आरोप प्रत्यारोपमा उत्रिए नेकपाका दुई खेमा

आरोप प्रत्यारोपमा उत्रिए नेकपाका दुई खेमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमा देखिने गरी आरोप पत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल खेमा देखिने गरी आरोप पत्यारोपमा उत्रिएका हुन् ।

पहिले भित्रभित्रै भुसको आगो जस्तो सल्किएको आरोप पत्यारोपको श्रृङखला अहिले गोलको धुवा जस्तो पुतपुताएको छ । शुक्रबार नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले पार्टी फुटाउने उद्देश्यले नेकपा एमाले पार्टी दर्ता गर्न लगाएको आरोप लगाए । साथै, उनले लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग समावेश गरी नक्सा जारी गर्न पार्टीले दबाब दिएकाले मात्र सम्भव भएको दाबी गरे । उनले नक्सा जारी गर्दा पार्टीको स्थान सर्वोच्च रहेकाले ओलीको मात्र देवत्वकरण भएकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

उनले आफूले अध्यक्षता गरेको पार्टीको स्थायी कमिटीको बैठकले पुसमै नक्सा छाप्ने निर्णय गरे पनि सरकारले त्यसबेला नक्सा किन भूमि नै ल्याउँछौं भनेर आलटाल गरेको बताए । आगामी वर्षको नीति तथा कार्यक्रम आउने दिन बिहान बसेको सचिवालय बैठकले नक्सा जारी गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेपछि त्यसमा प्रधानमन्त्री ओली सहमत भएको प्रचण्डको भनाइ छ । सचिवालयको निर्णयपछि बैठक चलिरहेको समयमा मुख्यसचिवलाई सम्पर्क गरी नीति तथा कार्यक्रममा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने विषय समावेश भएको प्रचण्डले दाबी गरेका थिए ।

त्यस्तै वरिष्ठ नेता नेपालले पनि पार्टीभित्र विधि, पद्धतिभन्दा व्यक्तिवादी शैली हावी भएको र म नै राज्य हुँ जस्तो प्रवृत्ति मौलाएको अभिव्यक्ति दिएका थिए । नेता नेपालले विधिको पालना नगरेर ‘मै स्टेट हुँ भन्दै हिँड्न थाले पतन बाहेक अरु केही नहुने भन्दै घुमाउरो पाराले ओलीलाई जवाफ दिएका थिए । साथै, उनले कोही पनि नेकपा फुट्छ भन्ने भ्रममा नरहन आग्रह गरेका थिए । कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने बरु चोइटिएर जाने उनको भनाइ थियो ।

ओलीप्रति निरन्तर शीर्ष नेताहरुबाट प्रहार हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लामो फेसबुक स्टाटस लेख्दै त्यसको प्रतिकार गरेका छन् । उनले शनिबार लामो फेसबुक स्टाटस पोष्ट गर्दै विपक्षी खेमाको प्रतिकार गरेका हुन् । उनले आफूले नेतृत्व गरेको पार्टीको दबाबका कारण नयाँ नक्सा जारी भएको भन्दै अभिव्यक्ति दिने प्रचण्डलाई लक्षित गर्दै आफू प्रधानमन्त्री भएको समयमा किन नयाँ नक्सा जारी गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । पार्टीले सरकारलाई निर्देशन दिनु र सरकारले पार्टीको निर्णलाई स्वीकार गर्नु सामान्य कुरा भएपनि प्रचण्डले अतिरञ्जित गरेको आरोप लगाए ।

तर पार्टीले कहिले पनि नयाँ नक्सा जारी गर्न दबाब नदिएको र पार्टीले दबाब दिएको भए पनि केही समयमा नै नयाँ नक्सा जारी गर्न सम्भव नहुने उनको तर्क छ । सरकारले नयाँ नक्सा जारी गर्ने बृहत तयारी गरेकै कारण पार्टीले दिएको सुझावको केही समयमा नै नक्सा जारी गर्न सम्भव भएको थापाको दाबी छ । अहिले प्रचण्डले तत्यहिन कुरा गरेर दिउसै रात पार्ने काम गरेको थापाको आरोप छ । साथै, उनले तथ्यहीन कुरा गर्नुको साटो बरू आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै यो नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।

Skip This
Skip This
Logo