बन्दाबन्दीको समयमा मात्र नेपालमा दुई हजार २१८ जनाले गरे आत्महत्या

बन्दाबन्दीको समयमा मात्र नेपालमा दुई हजार २१८ जनाले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने मध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् ।

प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् । “प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ,”–उनले भने ।

यस्तै, प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत आत्महत्या गर्न सक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आत्महत्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।रासस

Skip This
Skip This
Logo