सेवा सरलता र भ्रष्टाचार नियन्त्रणसहितको सुशासन मुख्य कार्यभार -गृहमन्त्री श्रेष्ठ

सेवा सरलता र भ्रष्टाचार नियन्त्रणसहितको सुशासन मुख्य कार्यभार -गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सेवा प्रवाहमा सरलता र भ्रष्टाचार नियन्त्रणसहितको सुशासन आफ्नो मुख्य कार्यभार भएको बताएका छन् । 

गृह मन्त्रालयमा आज पत्रकारसँगको परिचयात्मक भेटघाटका क्रममा गृहमन्त्री श्रेष्ठले राजनीतिलाई सफा गरी कसरी मुलुकको परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा आफू गम्भीर रहेको बताएका हुन् । उनले गृह प्रशासनको सुधार तथा सुशासन र सेवा प्रवाहमा कुनै सम्झौता नहुने बताए । 

उनले गृह प्रशासन र प्रहरीलाई राजनीतिक तथा शक्ति केन्द्रबाट मुक्त गर्ने आफ्नो अभियान रहेको र बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने दृढता व्यक्त गरे । 

गृहमन्त्री श्रेष्ठले सुरक्षाको सुदृढीकरण, राष्ट्रिय एकता, जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै सङ्क्रमणकालीन न्यायका कार्यभार पूरा गर्नु र मुलुकलाई रूपान्तरितसहितको आर्थिक विकासमा अघि बढाउने आफ्नो मुख्य कार्यभार रहेको बताए । 

राष्ट्र र जनताका निम्ति प्रहरी प्रशासन रहेको स्मरण गर्दै उहाँले गृह प्रशासनमाथिको पहुँचमा परिवर्तन ल्याउँदै पहुँच नपुगेकाका हितमा काम गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सुरक्षामा कुनै पनि प्रकारको गतिविधि गर्न नदिने उहाँले प्रतिबद्धता पनि जनाए । आमजनताले महसुस गर्ने गरी सेवा प्रवाहमा आफू गम्भीर रहेको उनको भनाइ थियो । 

“सहज र सरल ढङ्गले जनताले सेवा पाउनुपर्छ, भोलि आऊ भनेर नागरिकलाई दुःख दिने काम अब चल्दैन”, गृहमन्त्री श्रेष्ठले भने, “अब यसमा गम्भीर हुनुपर्छ, त्यसका लागि कर्मचारीलाई प्रशिक्षण दिइने छ र अभाव भएको ठाउँमा जनशक्ति थपिनेछ ।” 

उनले लैङ्गिक हिंसा बढ्दो क्रममा रहेकोप्रति चिन्ता प्रकट गरे । त्यस्ता घटनाको प्रभावकारी नियन्त्रण तथा पीडकलाई दण्डित गर्ने कुरामा आफ्नो ध्यान जाने बताए । उनले दलित उत्पीडितप्रतिको भेदभावमा कुनै छुट नहुने र त्यसका लागि जागरण अभियान बढाउनुपर्ने आवश्यकता औँल्याए । 

लागुपदार्थको दुव्र्यसनीले धेरै युवा प्रभावित भएका र त्यसतर्फ गृहप्रशासन गम्भीर रहेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले नेपाललाई लागुऔषध व्यापारको ट्रान्जिट हुनबाट रोक्ने बताए । 

उनले अपराध नियन्त्रणमा गम्भीर भएर लाग्ने, जेलको सुधार, अध्यागमनलाई प्रविधिमैत्री बनाउँदै वैदेशिक रोजगारीमा जाने युवालाई कसरी सहज बनाउने भन्ने विषयमा ध्यान गएको बताए । उनले  विमानस्थलबाट हुने गलत प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनाए ।

Skip This
Skip This
Logo