असन्तुष्ट पक्षलाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

असन्तुष्ट पक्षलाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी अघि बढाएका छन् । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाएका हुन् ।

सबैलाई समेटिएर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाएका छन् ।

गत असार १८ गतेको नेकपा स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुगेका हुन्। अब पुनर्गठन गर्ने बेला दुई वर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष प्रचण्डसँग सहमति गरेका छन् ।

मन्त्रिमण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आएका वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतालाई मन्त्री बनाउने सम्भावना रहेको छ ।

पूर्वमाओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु शाह लगायत मन्त्री बन्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्रीले पछिल्लोपटक गत मंसिर ६ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले ६ जना मन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्रालयमा घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए ।

त्यस्तै राज्यमन्त्रीहरुमा मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति, नवराज रावत स्वास्थ्य तथा जनसंख्या र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले केही राज्यमन्त्री परिवर्तन गरेर नयाँलाई राज्यमन्त्री बनाउने र आफ्ना सल्लाहकारहरुको समेत परिवर्तन गर्ने तयारी गरेका छन् । नेकपामा प्रदेशका मुख्यमन्त्री, पार्टीका प्रदेश इन्चार्ज र प्रदेशका मन्त्रीहरु समेत परिवर्तन गर्ने गरी दुई अध्यक्षबीच छलफल चलिरहेको छ । अहिले प्रधानमन्त्री ओलीको क्याबिनेटमा २५ जना मन्त्री रहेका छन् ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo