मनकारी ४५ घरधनी, जसले दिए घरभाडामा छुट

मनकारी ४५ घरधनी, जसले दिए घरभाडामा छुट

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् ।

कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा छुट गरेका हुन् । यसरी घरभाडा छुट गर्ने घरधनीले महिनामा रु तीन हजारदेखि रु ३० हजारसम्म छुट गरेका छन् ।

घरधनी सेतुदेवी रावलले आफूले लकडाउन अवधिको घरभाडा छुट गरिदिएको बताइन् । “बन्द भएको समयमा व्यापारीले कहाँबाट भाडा तिर्लान् भनी छुट गरिदिएकी हुँ”, रावलले भनिन्, “व्यापारबाटै जीवन धानेका व्यवसाय नचलेर हैरान भएका बेला भाडा छुटले राहत मिल्छ ।” घरधनीले व्यापारीलाई एकदेखि तीन महिनासम्म भाडादर आंशिकदेखि पूर्णरुपमा छुट गरेका छन् ।

व्यवसाय सञ्चालनको लागि बैकिङ कारोवार गरेका व्यवसायी घरभाडा र बैंकको किस्ता तिर्न पर्ने दोहोरो मारमा परेको बेला घरधनीले छुट दिएकाले केही राहत पुगेको व्यवासायी जीवन गौचनले बताए । बन्दाबन्दीले व्यापारीको व्यवसाय बन्द मात्र नभई आर्थिक भार थपिएकाले व्यापारीले बैंकको ब्याज छुट तथा ऋणको समयावधि बढाउन मागसमेत गर्दै आएका छन् ।

व्यवसायीको प्रतिष्ठासँग व्यापार जोडिएको र आर्थिक समृद्धिको पाटो व्यापार व्यवसाय भएकाले टीकापुर उद्योग वाणिज्य सङ्घले व्यापारीलाई ब्याज मिनाहाको माग गर्दै आएको छ । वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको नाम सार्वजनिक गर्ने, विभिन्न चरणमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने कार्य गरेको टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।रासस

Skip This
Skip This
Logo