काँठेखोला गाउँपालिकाले शहीदको सम्मानमा उद्यान निर्माण गर्दै

काँठेखोला गाउँपालिकाले शहीदको सम्मानमा उद्यान निर्माण गर्दै

केन्द्रबिन्दु
0
Shares

बागलुङको काँठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा शहीद उद्यान (पार्क) निर्माण गर्न थालेको छ ।

गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि शहीद उद्यान निर्माण गर्न थालेको हो । शहीद उद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ ।

शहीद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको २ रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी ५ रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।

उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ । शहीद उद्यानले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको काठेखोला गाउँपालिका–१ का अध्यक्ष खड्क थापामगरले जानकारी दिए ।

गाउँपालिकाले पहिलो कार्यकालमा ३० लाखको लागतमा चौतारा लगायतका विभिन्न संरचना बनाएको छ । उद्यान राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अध्यक्ष थापा बताउँछन् । पार्कलाई व्यवस्थित र आकर्षक बनाउनका लागि गाउँपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको उनको भनाइ छ ।
 
‘अहिले निर्माण गर्न लागेको उद्यान विशेष खालको हो, यहाँ उद्यान मात्रै बन्न लागेको होइन, एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको हुने छ, राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका शहीदको सालिक पनि राखिने छ,’ वडाध्यक्ष थापामगरले भने, ‘खासगरी उहाँहरूको सम्मानसँगै पर्यटन प्रवद्र्धनका लागि हामीले यहाँ उद्यान निर्माण गर्न थालेका हौं, अझै थप जग्गा व्यवस्थापन गर्नुपर्नेछ तर कामको शुरूआत भने भइरहेको छ, केही समयमै पार्कले पूर्णता पाउने छ ।’

Logo