काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले साउन १५ देखि होटल, ट्रयाकिङ लगायतका क्षेत्र र भदौ १ देखि आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले हवाई उड्डयन, होटल, ट्रयाकिङ लगायतका क्षेत्र सञ्चालनका लागि पोर्टोकल बनाइएको समेत बताए । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिलेदेखि नै तयारी गर्न पनि मन्त्री भट्टराईले आग्रह गरे । उनले पर्यटकको संख्या बढाउन भन्दा पनि धेरै खर्च गर्न सक्ने गुणस्तरीय पर्यटन ल्याउनेतर्फ गृहकार्य गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।
कोभिडका कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र त्यसको सम्बोधन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट अधितकतम रुपमा भएको उनले बताए । उनले केही विषय छुटेको भए राष्ट्र बैंकले विभिन्न समयमा ल्याउने कार्यविधिबाट सम्बोधन गराउन मन्त्रालयले पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले कोभिड १९ बाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको बताए । उनले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले मौद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरुलाई आग्रह गरे । देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले पनि राष्ट्र बैंकले महत्व दिएर मौद्रिक नीति ल्याएको शिवाकोटीले स्पस्ट पारे ।





























प्रतिक्रिया