मधेश र कर्णालीमा रास्वपा कमजोर, संगठन विस्तारमा आक्रामक [भिडियोसहित]

मधेश र कर्णालीमा रास्वपा कमजोर, संगठन विस्तारमा आक्रामक [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

उपनिर्वाचनमा थप एक सिट जितेपछि बलियो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सर्वसाधारणको क्रेज झनै बढेको छ । ४ मंसिरको चुनावमा प्रत्यक्षतर्फ ७ सिट पक्का गरेको रास्वपाले समानुपातिकमा ११ लाख मत पाएर १३ सांसद जितेको थियो । उपनिर्वाचनमा रास्वपाले मंसिर ४ मा नेपाली कांग्रेसले जितेको तनहुँ क्षेत्र नम्बर १ आफ्नो नाममा लेख्न सफल भएको छ । यस्तै चितवन २ मा सभापति रवि लामिछाने पहिलेभन्दा करिब ५ हजार बढी मत पाएर विजयी भएका भए ।

प्रतिनिधि सभामा एक सिट थपेसँगै रास्वपाले देशव्यापी संगठन विस्तार योजना पनि अघि सारेको छ । उक्त योजना ल्याएसँगै रास्वपाको सदस्यता लिन दैनिक ७ सयको हाराहारीमा निवेदन परिरहेको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ । सर्वसाधारणको क्रेजपछि रास्वपाले देशभर संगठन विस्तारका लागि नेताहरुलाई गाउँगाउँ पठाउने योजना रास्वपाले अघि सारेको छ ।

उपचुनावपछि रास्वपाको सदस्यता भर्नेहरुको संख्या २० प्रतिशतले बढेको र आममानिसको आकर्षण र विश्वास बढेको रास्वपाका नेताहरु बताउँछन् । सदस्यताको लागि अनलाइन फर्म भर्ने संख्या दैनिक ५ देखि ७ सय पुगेको छ । रास्वपाको मोबाइल एपबाट पनि अनलाइन सदस्यता भर्न सकिने भएकाले देश–विदेशबाट सदस्यता लिनेहरुको ओइरो लागेको उनीहरु बताउँछन् । अहिलेसम्म सदस्यताका लागि प्राप्त भएका १ लाख आवेदनमध्ये २५ देखि ३० हजारको आवेदन स्वीकृत भइसकेको र बाँकीको प्रक्रियामा रकेको उनीहरुले बताए ।

अघिल्लो वर्ष असार ७ गते गठन भएको रास्वपाले प्रतिनिधि सभाको चुनावमा नसोचेको सफलता पायो । त्यहीकारण ठूला र पुराना दलका नेतासमेत रास्वपातिर आकर्षित हुन थालेका छन् । कांग्रेसमा लामो समय राजनीति गरेकै नेताहरु पनि आफूसँग आउन तयार रहेको रास्वपाको दाबी छ । 

बागमती र गण्डकी प्रदेश तथा काठमाडौं उपत्यकामा बलियो देखिएको रास्वपा मधेश र कर्णाली प्रदेशमा भने कमजोर देखिन्छ । ५ वटा प्रदेशमा आक्रामक संगठन विस्तार हुने देखिए पनि कर्णाली र मधेशमा निकै मेहनत गर्नुपर्ने निचोडमा पार्टी छ । वैशाख १० मा बारा २ को उपचुनावमा रास्वपाका उम्मेदवार रमेश खरेलको जमानत जफत् नै भयो । त्यही भएर रास्वपाले अबको कार्यक्रम बनाउँदा मधेश र कर्णाली प्रदेशलाई विशेष ध्यान दिने योजना बनाएको छ । 

संगठनलाई व्यवस्थित बनाउन र वडादेखि केन्द्रसम्म सम्पर्क हुनेगरी रास्वपाले तीन तहको संरचना बनाएको छ– वडा, पालिका र निर्वाचन क्षेत्र । संगठन बनाउन विभिन्न जिम्मेवारीमा रहेका नेताहरु खटिनेछन् । हरेक वडा भेला गरेर समिति बनाउने र पालिका समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको पार्टीले बताएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले ३७ वटा विभाग प्रमुख टुंगो लगाएको छ। 

यता राष्ट्रिय स्वतन्त्र पार्टी चाँडै सरकारमा जाने चर्चा भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री बन्ने अफर दिएको कुराले यतिबेला चौतर्फि चर्चा पाइरहेको छ । पार्टीले पनि कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो ।
 

Skip This
Skip This
Logo