आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ ।
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् ।
सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन् ग्रेडेड) आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् । अर्थात ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन् ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।
तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।





























प्रतिक्रिया