उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।
स्वप्नबालिका प्रकाशनद्वारा आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उपराष्ट्रपति यादवले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए ।
उनले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पु-याएको योगदानको चर्चा गरे ।
पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।
“राजनीतिकर्मी एवं समाजिक अगुवासमेत रहनुभएको प्रेमकृष्ण पाठक हामीमाझ हुनुहुन्न, व्यक्ति महत्वपूर्ण पदमा हुन पनि सक्छन्, नहुन पनि सक्छन्, तर विचार मुख्य कुरा हो, तर उहाँले देश सेवामा पु-याउनुभएको योगदान सदैव चिरस्मरणीय छ”, उनले भने ।
स्व पाठकको राजनीतिक योगदान प्रशंसायोग्य रहेको बताउँदै उपराष्ट्रपति यादवले बालसुलभ चेतना भएको नेता र कुशल अभिवक्ता भएको स्मरण गरे । उनले भने, “उहाँले नेपाल बार एशोसिएसनको अध्यक्षका रुपमा रहेर देशको सेवा गर्नुभएको थियो, एक कुशल अभिवक्ता भएका कारण उहाँले विभिन्न लेखन कार्यमा समेत उत्तिकै महत्वपूर्ण योगदान दिनुभएको थियो ।”
सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्व नेता पाठकले कानुन, नेपाली साहित्य र राजनीतिक परिवर्तनमा पु-याएको योगदानको चर्चा गरे ।































प्रतिक्रिया