काठमाडौं ।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको उनले बताए ।
क्वारेन्टाइनमा रहेको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको संख्या पनि घटेको गुरागाईंले बताए । उनले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी दिए । उनले भने, ‘अहिले क्वारेन्टाइनमा रहेको संख्या नै घटदै गएको छ । अहिले परीक्षण गर्दा अस्ति धेरै देखिएको टेस्टको नतिजा आउन बाँकी रहेर अलिकति संख्या धेरै भएको थियो । अहिले जति आवश्यकता छ आवश्यकता अनुसार पीसीआरको परीक्षणको काम भइराखेको छ । क्रमशः आवश्यकता अनुसार जति आवश्यक हुन्छ त्यो अनुसार पीसीआर परीक्षण गर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको छ ।’





























प्रतिक्रिया