नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
साेमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय दिएको हो । सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो ।
काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेका उनी अदालतमा उपस्थित हुँदा प्रफुल्ल मुद्रामा देखिन्थे। आफ्ना समर्थकलाई हात हल्लाउनुको साथै मुस्कुराएर उनले अभिवादनसमेत गरे। वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी प्रहरीले खोजी थालेपछि सोही स्थानबाट सम्पर्कविहीन भएका थिए ।
यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीप सहित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।





























प्रतिक्रिया