प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले संरचनागत सुधार ल्याउने र धेरै प्रतिफल प्राप्त गर्ने बताएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धि हासिल गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए।
उनले सरकारले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने जस्ता कार्यमा विशेष जोड दिने बताए। उनले त्यस्ता कार्यक्रमबाट आर्थिक क्रियाकलाप वृद्धि भई अर्थतन्त्र सबल बन्दै जाने विश्वास लिएको बताए।
प्रधानमन्त्री प्रचण्डले विश्वलाई नै आक्रान्त पारेको कोभिड-१९ को महामारी र पछिल्लो समयको रुस-युक्रेन युद्धबाट आपूर्तिमा आएको अवरोधले नेपालको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पारेको बताए।
उनले बजेट बनाउँदा आवश्यक पर्ने सुझाव विज्ञहरूबाट प्राप्त भएपछि त्यसले मुलुकलाई विकास र समृद्धितिर डोर्याउन सहयोग पुर्याउने बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको समयमा विज्ञको सुझावले ठुलो भूमिका खेल्ने उनले स्पष्ट पारे।































प्रतिक्रिया