शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् । 

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरेका हुन् । उनले भने, “अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन । अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कारबाही गर्न दृढ छ ।” 

नक्कली भूटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए । उनले भने, “कोही निर्दाेष फस्ने काम नहोस् भनेर प्रारम्भदेखि नै सचेत हुन, कसैको सार्वजनिक छविमाथि अनावश्यक आशङ्का  र क्षति पुग्न नपाओस् भनेर होसियार भएर प्रहरीले निष्ठापूर्वक र निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाएको छ ।”

अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अनुसन्धानले पुष्टि गरेका आधारमा कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । 

उपप्रधानमन्त्री श्रेष्ठले भने, “संसद्मा सांसदले बाहिर नागरिक समाज र बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता र जनसमुदायको ठूलो हिस्साले भ्रष्टाचार विरोधी अभियान चलाउनै पर्छ भनी व्यक्त गर्नुभएको विचार र अभियानप्रति आभार व्यक्त गर्छु ।” 

भ्रष्टाचार र कमिसनको जालोले देशलाई बर्बादी गरेकाले त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासन कायम गरी समृद्धि हासिल गर्ने वर्तमान सरकारको पहिलो कार्यभार रहेको स्पष्ट पारे । उनले भने, “देश बनाउने हो भने दलगत राजनीतिक स्वार्थभन्दा माथि उठ्नु पर्छ, उठौँ ।”

समितिका सदस्य गगनकुमार थापाले बैठकमा छलफल गर्ने विषय र समयपहिले नै निर्धारण गर्न तथा विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने सन्दर्भमा आवश्यक परामर्श गर्न सानो टोली बनाएर काम गर्ने वातावरण बनाउन सुझाव प्रस्तुत गरे ।

अर्का सदस्य हितराज पाण्डेले हाम्रो काम कारबाही र छलफलबाट जनताले के लाभ प्राप्त गरे र कस्तो परिणाम निस्कियो भन्ने पाटोबाट बहस हुनुपर्छ भने ।

समिति सदस्य रवि लामिछानेले यसअघिका समितिले भ्रष्टाचारका विषयमा गरेको अध्ययन र निर्देशनलाई ग्रहण गर्न सुझाव दिँदै समितिका निर्देशन सरकारले पालना अनिवार्य गर्नैपर्ने परिपाटी विकास गर्ने बाटोबाट अघि बढ्न आवश्यक रहेको बताए । 

अर्का सदस्य रघुजी पन्तले समितिका कामकारबाहीलाई जति प्रभावकारी तुल्याउन सक्यो संसद् उत्तिनै क्रियाशील हुने भएकाले समितिले कार्यायोजना बनाएर काम गर्न सक्नुपर्छ भने ।

समितिका सदस्य विश्वप्रकाश शर्माले समितिका सदस्यले दलगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर संयम, परिपक्वता र एकताका साथ राज्यलाई दबाब दिएर, साथमा लिएर तथा सहयोग पु-याएर सुशासन एवम् समृद्धिका लागि काम गर्नु आवश्यक रहेको बताए ।

बैठकमा सदस्यहरु दिलेन्द्रप्रसाद बडू, रामकुमार राई, डा चन्दा कार्की, हृदयराम थानी, सर्वेन्द्रनाथ शुक्ल, प्रकाश अधिकारी, ईश्वरी न्यौपाने, सरिता प्रसार्इं, अम्बिका बस्नेतलगायतले कार्य जिम्मेवारीका हिसाबले महत्वपूर्ण समितिमार्फत जनता र राष्ट्रहितमा काम गर्न सुझाव दिए ।

Skip This
Skip This
Logo