केन्द्रीय तथ्यांक कार्यालयले प्रदेशस्तरीय योगदानको हिस्सा सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो त्रैमासिक वित्तीय अवस्था र आर्थिक उत्पादनलाई आधार मानेर समग्र वर्षको आर्थिक वृद्धिदर लगभग २.१६ प्रतिशत हुने अनुमान गरेको छ ।
चालु आवको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ । यसै कुल गार्हस्थ्य उत्पादनलाई आधार मानेर कार्यालयले प्रदेशस्तरीय योगदानको अनुमान गरिएको हिस्सा सार्वजनिक गरेको हो । नेपालको सातै प्रदेशको आर्थिक वृद्धिदर घट्ने कार्यालयले जनाएको छ ।
कुन प्रदेशको योगदान कति ?
कोशी प्रदेश
चालु आवमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा करिब ८ खर्व ४९ अर्ब रुपैयाँ बराबरको योगदान हुने अनुमान छ । अघिल्लो वर्ष संशोधित अनुमान करिब ७ खर्व ८० अर्ब रुपैयाँ रहेको थियो । यस वर्ष कोशी प्रदेशको आर्थिक वृद्धिदर २.०५ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धिदर ५.४७ प्रतिशत थियो । तुलनात्मक रूपमा यस वर्ष समग्र प्रदेशको आर्थिक वृद्धिदर ३.४२ प्रतिशतको विन्दुले घट्ने देखिएको हो । यस प्रदेशमा सबैभन्दा बढी योगदान ३३.२ प्रतिशत कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । यस प्रदेशले राष्ट्रिय स्तरको कुल गार्हस्थ्य उत्पादनमा १५.८५ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।
मधेश प्रदेश
चालु आवमा मधेश प्रदेशको योगदान कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आवको संशोधित अनुमान करिब ६ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । प्रदेशको कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदर १.६९ प्रतिशत हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धिदर ४.६३ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा यस वर्ष प्रदेशको आर्थिक वृद्धिदरमा २.९४ प्रतिशतले गिरावट आउने जनाइएको छ । कृषि प्रधान मधेस प्रदेशको आर्थिक वृद्धिदरमा सबैभन्दा बढी कृषिको ३५.२५ प्रतिशत रहेको छ भने सबैभन्दा कम योगदान ०.२५ खानी तथा उत्खनन क्षेत्रको रहेको छ । यस प्रदेशले राष्ट्रिय स्तरको कुल गार्हस्थ्य उत्पादनमा १३.१५ प्रतिशत योगदान पु-याउने अनुमान गरिएको छ ।
चालु आवको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ ।
बागमती प्रदेश
चालु आवमा बागमती प्रदेशको कूल हिस्साको योगदान १९ खर्व ८१ अर्ब रुपैयाँ हुने अनुमान गरेको छ । गत आवमा यस्तो अनुमान (संशोधित) करिब १८ खर्व १९ अर्ब रहेको थियो । तर, आर्थिक वृद्धिदरमा बागमती प्रदेशले उल्लेख्य गिरावट आएको छ । गत आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धि दरमा ६.३० प्रतिशत योगदान रहेकोमा यस आवमा १.४५ प्रतिशत हाराहारी मात्र हुने प्रक्षेपण गरिएको छ । जुन प्रतिशतमा हेर्दा अधिकतम ७७.७७ प्रतिशतको सङ्कुचन हो ।
कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको सबैभन्दा बढी योगदान २३.६५ व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३५ पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापका क्षेत्रको रहेको छ । यस प्रदेशले राष्ट्रिय स्तरको कुल गार्हस्थ्य उत्पादनमा ३७.०९ प्रतिशत योगदान पु-याउने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश
चालु आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ४ खर्ब ८२ अर्ब रुपैयाँ हुने अनुमान रहेको छ । गत आवमा संशोधित अनुमान करिब ४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो । यस वर्ष समग्र प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ । अघिल्लो वर्षयस्तो आर्थिक वृद्धिदर ६.३५ प्रतिशत थियो । तुलनात्मक रूपमा यस वर्ष गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.०९ प्रतिशतले घट्ने देखिएको हो ।
कुल गार्हस्थ्य उत्पादनमा यो प्रदेशबाट सबैभन्दा बढी योगदान २५.९५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.३५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ९.० प्रतिशत योगदान पु-याउने अनुमान छ ।
लुम्बिनी प्रदेश
चालु आवमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ६२ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, प्रदेशको आर्थिक वृद्धिदर यस आवमा २.०६ प्रतिशत रहने अनुमान छ । अघिल्लो आवमा ५.०३ प्रतिशत रहेको थियो । अघिल्लो आवको तुलनात्मक यस आवमा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदरमा २.९७ प्रतिशतले घटेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको सबैभन्दा बढी योगदान २९.८५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.३५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । यस प्रदेशको राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको हिस्सा १४ प्रतिशत रहने अनुमान छ ।
कर्णाली प्रदेश
चालु आवमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन २ खर्ब २१ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब २ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो । प्रदेशको आर्थिक वृद्धिदर १.९१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आवमा यस्तो आर्थिक वृद्धिदर ५.३२ प्रतिशत रहेको थियो । गत आवको तुलनात्म समग्र प्रदेशको चालु आवमा आर्थिक वृद्धिदर ३.४१ प्रतिशतले घटेको छ ।
७ वटा प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आएको छ । यसरी आर्थिक वृद्धिदरमा कमी आउनु चिन्ताको विषय भएको अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् ।
कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशबाट सबैभन्दा बढी योगदान ३०.८५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । प्रदेशको राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ४.१५ प्रतिशत योगदान हुने अनुमान छ ।
सुदूरपश्चिम प्रदेश
चालु आवमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ३ खर्ब ७६ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आवमा संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो । त्यसैगरी सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष प्रदेशको आर्थिक वृद्धिदर ४.७८ प्रतिशत रहेको थियो । तुलनात्मक हिसावले प्रदेशको आर्थिक वृद्धिदर ३ प्रतिशतको विन्दुले घटेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा समग्र प्रदेशको सबैभन्दा बढी योगदान ३३.४५ कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.१५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ । प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशतको योगदान पु-याउने अनुमान छ ।
७ वटा प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आएको छ । यसरी आर्थिक वृद्धिदरमा कमी आउनु चिन्ताको विषय भएको अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् । उनका अनुसार आर्थिक संकुचन आउनुको कारण कोरोना भाइरसको महामारी हो । कोरोना भाइरस र त्यो नसकिँदै भएको रुस–युक्रेनको युद्धले महँगी बढ्यो, आपूर्तिप्रणाली खल्बलियो र उद्योगमा पनि असर पर्यो जसको प्रभाव आर्थिक वृद्धिदरमा परेको छ ।





























प्रतिक्रिया