कफी खेतीमा जोड दिँदै खानीखोला

कफी खेतीमा जोड दिँदै खानीखोला

केन्द्रबिन्दु
0
Shares

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि(महाभारत पर्वत शृङ्खला) मा अवस्थित स्थानीय तह हो।

गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउछन्। उनले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताए। ‘एक वर्षमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम भएका छन्’, थिङले भने।

सो अवधिमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न मन्त्रिपरिषद्बाट जग्गा स्वीकृत गर्ने काम भएको छ। कक्षा १ देखि १० सम्मका असहाय बालबालिकाका लागि आवासीय शिक्षणको व्यवस्था गरिएको छ ।

‘जसको उत्पादन : उसैलाई अनुदान’ कार्यक्रममार्फत खानी खोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्देश्यले कफीमा प्रति किलो रु ३५ को दरले अनुदान दिइएको छ।

‘खानी खोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्न प्राथमिकताका साथ काम गरेका छौँ’, उनले भने। खानीखोला–३, ४ र ५ को वडा भवन निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको छ। सुस्त गतिमा निर्माणाधीन बाग्मती खोलास्थित सिक्रेदोभानमा पक्की पुल निर्माण तीव्र पारिएको छ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्यचौकी भवन निर्माण, यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलो पटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको सुरुआत, सुकुम-धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुनेगरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआत गरिएको अध्यक्ष थिङले जानकारी दिए।

यसैगरी गाउँपालिकाले एक वर्षको अवधिमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै गएर स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिसमेत वितरण गरिएको छ।

गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा/डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेबिज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण समेत गराएको छ।

गाउँपालिकाले बालविवाह न्यूनीकरण, दलित, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकका क्षेत्रमा आउँदो वर्ष थप योजना बनाइने जनाएको छ। गाउँपालिकाले कफी खेतीका क्षेत्रमा भने दिगो आयस्रोतका रूपमा छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान गत वैशाख तेस्रो साता वितरण गरेको थियो।

सबै कृषक समूहलाई रु पाँच लाख वितरण गरिएको छ। कफी किसानलाई प्रोत्साहन दिन चालु आवमा रु ३५ लाख विनियोजन गरिएको अध्यक्ष थिङले बताए। ‘कृषकलाई ३५ हजार बिरुवा वितरण गर्ने योजना छ’, उनले भने। यस वर्ष १५ हजार किलो कफी उत्पादन भएको छ।

गाउँपालिकाले कृषकलाई उत्पादितमध्ये एक किलो बराबर रु ३५ अनुदान दिने निर्णय गरेको छ। यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कृषकले कफीका लागि अनुदान पाएका छन्।

Skip This
Skip This
Logo