सन् २०२६ को विश्वकप फुटबल अमेरिकाका ११ रंगशालामा खेलाइने

सन् २०२६ को विश्वकप फुटबल अमेरिकाका ११ रंगशालामा खेलाइने

केन्द्रबिन्दु
0
Shares

सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता उत्तर अमेरिकाका तीनवटा राष्ट्रले संयुक्त रुपमा आयोजना गर्दैछन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा चार वर्षपछि हुने विश्वकपका आयोजक राष्ट्र हुन् ।

विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार आगामी विश्वकपका खेलहरु खेलाइने रंगशालाहरुको टुंगो लगाएको छ । त्यसमध्ये अमेरिकाका ११ वटा सहरका रंगशालामा विश्वकपका खेलहरु खेलाइने छन् । यसैगरी मेक्सिकोका तीन र क्यानडाका दुई सहरका रंगशालामा विश्वकपका खेलहरु खेलाइने फिफाले जनाएको छ ।

विश्वकपको यो २३औं संस्करण हो । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक तीनवटा राष्ट्रले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । अमेरिकी सहर डालासले पनि विश्वको खेल खेलाउने अवसर पाएको छ ।

फिफाका अनुसार, डालासको ‘एट एन्ड टी रंगशाला’ मा विश्वकपका केही खेल खेलाइने छ । तर, डालासमा कुन चरणका कति खेल खेलाइने भन्ने कुराको भने टुंगो लाग्न बाँकी छ । कुन रंगशालामा कति खेल खेलाइने भन्ने कुराको टुंगो आगामी वर्ष लाग्नेछ ।

पर्याप्त पूर्वाधार रहेकाले डालासलाई आयोजक सहरका रुपमा चयन गरिएको बताइएको छ । अत्याधुनिक रंगशालाका अतिरिक्त डालासमा दुईवटा ठूला विमानस्थल र स्तरीय होटलहरु पनि छन् । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको फुटबल भनेपछि हुरुक्क हुने दर्शकको सँख्या पनि डालास सहरमा निकै ठूलो छ ।  डालासका अतिरिक्त अमेरिकाका अन्य सहर एटलान्टा, बोस्टन, न्यु योर्क, न्यु जर्सी, कान्सास सिटी, हस्टन, लस एन्जल्स, फिलाडेल्फिया, सियाटल, सन फ्रान्सिस्को र मियामीमा पनि विश्वकपका खेलहरु खेलाइने छन् ।

मेक्सिकोमा भने मेक्सिको सिटी, मोन्टेरी र ग्वाडालाजरा सहरमा विश्वकपका खेलहरु खेलाइने छन् । यसका अतिरिक्त क्यानडाको भ्यानकुभर र टोरन्टो सहरमा विश्वकपका खेलहरु खेलाइने फिफाले जनाएको छ ।

Skip This
Skip This
Logo