स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७६ औँ महासभामा सहभागी हुन जेनेभा जाने भएका छन्। उनीसँगै स्वास्थ्य क्षेत्रका ६ जना उच्च अधिकारी पनि जाने कार्यक्रम छ।
स्विट्जरल्यान्डको जेनेभामा ७ देखि १८ जेठसम्म डब्लुएचओको ७६औं महासभा हुँदै छ । उक्त महासभामा भाग लिन मन्त्री बस्नेतसँगै अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहितको टिम जान लागेको हो।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष गर्ने यो महासभालाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो सम्मेलन मानिन्छ। यो पटक थोरै टिम लिएर आफू महासभामा भाग लिन जान लागेको मन्त्री बस्नेतले बताए।
शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने ‘६ जनाको सानो टिम लिएर म महासभामा जाँदै छु सम्भवतः यो टिम इतिहासकै सानो टोली हो। योभन्दा अगाडि धेरै ठूलो संख्यामा जानु हुन्थ्यो जुन हामीले पछ्याएनौं।’
यसपटको डब्लुएचओको महासभामा नेपालको मुख्य एजेण्डा भनेको आगामी सेप्टेम्बरमा हुन लागेको डब्लुएचओको दक्षिण पूर्वी एसियाली देशहरूको क्षेत्रीय निर्देशकको निर्वाचन हो।
यो निर्वाचनमा यसपटक नेपालले उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेको छ । नेपालको तर्फबाट डा. शम्भु आचार्य उम्मेदवार छन्। त्यसैले नेपालले डब्लुएचओको दक्षिण पूर्वी एसियाका देशहरूसँग क्षेत्रीय निर्देशकको लागि मत माग्ने मुख्य एजेन्डा रहेको मन्त्री बस्नेतले बताए।































प्रतिक्रिया