पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरन्तररूपमा कडा शब्दमा विरोध जनाउँदै आएका छन् ।
नेता भट्टराईले आज शनिबार बिहान ट्वीट गर्दै ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै भट्टराईले प्रश्न समेत गरेका छन् । उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् ।
प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप पनि भट्टराईले लगाए । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’
— Baburam Bhattarai (@brb1954) July 18, 2020
भट्टराईले शुक्रबार मात्रै प्रधानमन्त्री ओलीका बारेमा ‘आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छे’ ले सरकार चलाइरहेको भन्दै टिप्पणी गरेका थिए ।
राजधानीमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका थिए । जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफुले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन् । म चाँही हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहान्छु । किनकी यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनौं वर्वाद गरिरहेको छ । देश र जनताकोजीवनमाथि खेलवाड गरिरहेको छ ।’’
नेता भट्टराईले त्यस अघि ‘अति गरे खति हुन्छ’ भन्दै प्रधानमन्त्रीको उपचार खोज्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले भगवान् रामको बारेमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता भट्टराईले ‘सिंहमेव जयते’ र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा ओलीको चिन्तन प्रणाली स्वस्थ नदेखिएकाले उनलाई छाडा छोड्नु खतरनाक हुने’ भन्दै कडा शब्दमा टिप्पणी गरेका थिए ।































प्रतिक्रिया