सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यानाकर्षण भएको बताएको छ।
नाडाले धेरै समय अघि देखि राख्दै आएको मागलाई दृष्टिगत गदैँ सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ।
यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको र अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेकाे जनाएकाे छ।
नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधारण बर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाले जिकिर गरेकाे छ ।
एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सिर्जना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्दछ। सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगत गरी नीति बनाउदा त्यसको दीर्घकालीन असरलाई समेत ध्यान दिनु पर्ने हुन्छ।
सरकारले यस्ता विभिन्न बस्तुगत तथ्यहरुलाई मनन गर्दै आउँदो बजेटको तर्जुमा गर्दा सवारी साधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस भन्ने नाडाको धारणा रहेको छ।





























प्रतिक्रिया