ढाकाकुमारको खुलासा– सांसद बनाउन डीपी अर्याल र मुकुल ढकालले ३ करोड लिए [भिडियाेसहित]

ढाकाकुमारको खुलासा– सांसद बनाउन डीपी अर्याल र मुकुल ढकालले ३ करोड लिए [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले निष्काशन गरेको पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्दाँ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकाललाई तीन करोड रुपैया दिएको खुलासा गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड ५० लाख रुपैयाँ मागेको अडियो बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टीका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमा गएर पैसा बुझाएको दाबी गरेका छन्। उनले सांसद बन्नकै लागि महामन्त्री मुकुल ढकाललाई पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा गएर १ करोड दिएको र पछि कार्यालयमै गएर डीपी अर्याल र मुकुल ढकाललाई १ करोड ८४ लाख दिएको दाबी गरेका छन् । 

समानुपातिकबाट सांसद बनेका ढाकाकुमारले आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले रास्वपाका लागि व्यक्तिगत रुपमा १०–१५ लाख खर्चिएको बताए । उनले सांसद बन्दा तीन करोडभन्दा बढी रकम खर्चिएको तर टेप काण्ड बाहिरिएपछि पार्टीले आफूलाई मात्र दोषी बनाएको आरोप ढाकाकुमारले लगाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको टेलिफोन संवादको आवाज आफ्नो नभएको उनले स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्काशन गरेपछि सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठ न्याय माग्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् । उनी आफ्नो कुनै गल्ती नभएका कारण न्याय पाउनेमा ढुक्क देखिन्छन् । 

पार्टी सभापति रबि लामिछानेले पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सांसद बन्न दुई करोड मागेको अडियो बाहिरिएपछि सांसद पद खारेज गरी पार्टीबाटै निस्काशन गरेका थिए । 
 

Logo