चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २६ गैंडा मरे

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सो मध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६÷२६ गैंडा मरेका थिए । गत आर्थिक वर्षमा बुढो भएर ६, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आक्रमणका कारण एक गैंडा मरेका छन् ।

त्यसै गरेर करेन्ट लागेर दुई, रुखले किचेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेका उप्रेतीले जानकारी दिए। मरेका मध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन । त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कंकाल मात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेती बताउँछन् ।

सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए ।

चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैंछ ।रासस

Logo