तनहुँमा कृषकलाई मौरी सहितको घार वितरण

तनहुँमा कृषकलाई मौरी सहितको घार वितरण

केन्द्रबिन्दु
0
Shares

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरी सहितको घार वितरण गरिएको छ । समूहमा आवद्व ४६ कृषकलाई मौरी सहितको घार वितरण गरिएको हो । 

ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे ।

कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । मौरीपालन सम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरी सहितको घार अनुदानमा वितरण गरिएको हो ।

कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ । कृषकलाई कुटानी पिसानी, हाते ट्रयाक्टर, कृषि औजार, बीउबिजन लगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको पाइन्छ । 

Logo