काठमाडौं ।
बनेपाका ३५ वर्षीय मिलन थपलिया सोमबार साँझ ६ बजे काठमाडौँबाट बा ३ ख ७९२३ नम्बरको यात्रुबहाक बसमा जाँदै थिए । तीनकुनेको जाम छिचोल्न सो बस चक्रपथतर्फको बाटोबाट कोटेश्वर निस्कियो । कोटेश्वर पुग्नेबित्तिकै सडक पार गर्ने पैदलयात्रुका लागि ट्राफिकले रोक्यो ।
यात्रुले पार गरेर बाटो खुल्ला भइसकेपछि केही ट्राफिक आए र सो बसले ट्राफिक नियमको उल्लंघन गरेको भन्दै चालकसँगै बहस गर्न थाले । त्यतिबेला चालकको केही गल्ती नभएको बसमा सवार अन्य यात्रुले पनि महसुस गरिसकेका थिए ।
थपलियासहित अन्य केही यात्रु चालकको केही गल्ती नभएको भन्दै ट्राफिकलाई भन्न गए । तर उनीहरुलाई उल्टै थर्काउँदै बसमा बस्न लगाइयो । यात्रुले सोचेका थिए कि अब त बस जाने भयो ।
तर गाली गर्दै पुनः चालकलाई नै बसबाट ओर्लिन लगाइयो । चालकलाई पाँचसयको चिट काट्न ओरालिएको रहेछ । चिट त काटियो, सँगै बसको बिलबुक, लाइसेन्स लगायतका अन्य कागजपत्र पनि जफत गरेर लगियो । सो समय झण्डै आधा घण्टा सोही स्थानमै रोकिएको थियो ।
‘बिनाकारण कारबाही गरिनु नौलो विषय होइन’
बिनाकारण चालकलाई कारबाही गरिनु कुनै नौलो विषय नभएको यात्रु थपलिया बताउँछन् । झण्डै २० वर्षदेखि सार्वजनिक यातायातमा यात्रा गर्दै आएका उनी विगतमा पनि यस्तै खालका समस्या हुने गरेको उदाहरण दिन्छन् । ६ लेनको बाटो नबनाउँदाको एउटा घटना स्मरण गर्दै उनी भन्छन्, “एकपटक बनेपाबाट काठमाडौँतर्फ आउँदै गरेको एउटा बसलाई कौशलटारमा रोकियो । बस रोकेपछि चालकलाई जरिवाना तिराउनुका साथै बसको चाबी समेत खोसेर लगियो ।” सो समय अन्य बसलाई समेत आवतजावतमा समस्या भएको उनले जानकारी दिए ।
‘ट्राफिककै कारण गन्तव्यमा पुग्न मुस्किल’
कहिले बिनाकारण चालकलाई रोकेर होस् या ट्राफिक जामको व्यवस्थापन गर्न नसकेर आफूहरु समयमै गन्यव्यमा पुग्न नसकेको यात्रुहरुको गुनासो छ । काठमाडौँका मुख्य चोकहरु जस्तैः जडीबुटी, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर, माइतीघर, चावहिल लगायतका स्थानमा दैनिक अत्याधिक जाम हुँदै आएको छ । काठमाडौँका ईश्वर भट्टराईका अनुसार ट्राफिक प्रहरीले उचित व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएको हो । उनीहरु मात्र उत्तरदायी हुने हो भने यात्रुले यस्ता खालका समस्या भोग्नु नपर्ने उनले बताए ।
‘बिनाकारण कारवाही गर्दैनौँ’
बिनाकारण कुनै पनि सवारीसाधनलाई कारवाही नगरिने महानगरीय ट्राफिक महाशाखाका सूचना अधिकारी एसपी श्यामकृष्ण अधिकारी बताउँछन् । उनले भने, “चालकलाई आफूले गरेको गल्तीको कारण थाहा नहुने हुँदा बिनाकारण कारवाही गरिएको भ्रम पैदा भएको हुन सक्छ । तोकिएको लेन बाहेकका अन्य लेनबाट चलाउँदा धेरै सवारी कारवाहीमा पर्ने गरेका छन् ।” चालक स्वयंले सो विषयमा गल्ती स्वीकार्नु आवश्यक रहेकोे उनको भनाई छ ।
‘दैनिक २५ सयभन्दा बढी सवारी पर्छन् कारवाहीमा’
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्रै दैनिक २५ सयदेखि तीनहजारसम्म सवारीसाधनहरु कारवाहीमा पर्ने गरेका छन् । बढीजसो सवारीसाधन लेन मिचेका कारण कारवाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ । कोभिड १९ पछि काठमाडौँ उपत्यकामा मात्रै १६ लाखभन्दा बढी सवारीसाधन थपिएका छन् । सरकारले गरेको निषेधाज्ञापछि उपत्यका बाहिरका विभिन्न जिल्लाबाट आउने सवारीसाधनका कारण ट्राफिक जामको समस्या बढेको एसपी अधिकारी बताउँछन् । देशको तत्कालीन राजनीतिक घटनाक्रमसँगै दैनिक विरोधका कार्यक्रमहरु सञ्चालन हुँदै जाँदा ट्राफिक व्यवस्थापनमा समस्या आएको उनको भनाइ छ ।































प्रतिक्रिया