‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेप पछिल्ला दिनमा व्यक्तिगत जीवनका कारण चर्चामा आए। उनी र उनकी पूर्व पत्नी एम्बर हर्डबीच भएको कानुनी लडाईंमा सबैको नजर थियो। तर यी दुईबीचको मुद्दा टुंगो लागेसँगै अभिनेता निजी जीवनका कारण पुनः चर्चामा छन्।
हालै फ्रान्समा सम्पन्न ‘कान्स फिल्म फेस्टिभल’मा उनले ‘आफूलाई हलिउडको आवश्यकता नरहेको’ बताएपछि चर्चामा छन्। जोनी अभिनयमा मात्र होइन, सांगीतिक क्षेत्रमा पनि उत्तिकै चिनिएका छन्। यिनै जोनीले स्वास्थ्य समस्या देखाउँदै आफ्नो आगामी सांगीतिक यात्रा रद्द गरेका छन्।
जोनीले आफ्नो व्याण्डका साथ एक सांगीतिक यात्रा गर्ने तयारी गरिरहेका थिए। तर उनको खुट्टाको जोर्नीमा फुटेपछि उनले यात्रा रद्द गरेका हुन्। उनले आफ्नो इन्स्टाग्रामबाट आफू घाइते भएको जानकारी दिँदै चिकित्सकले सबै गतिविधिबाट केही समयका लागि टाढा रहन सुझाव दिएको उल्लेख गरेका छन्।
‘मलाई यो कुरा भनिरहँदा दुःख लागेको छ कि मेरो खुट्टाको जोर्नी फ्याक्चर भएको छ। यो एक हेयरलाइन ब्रेक थियो, तर कान्स र रोयल अल्बर्ट हलको बेला यो राम्रो हुनुको सट्टा झन बिग्रियो। कैयौं चिकित्सकले मलाई दृढताका साथ मलाई यो समय कुनै गतिविधि नगर्न सुझाव दिएका छन्। यो समय म सांगीतिक यात्रा गर्न असमर्थ छु,’ उनले लेखेका छन्।
उनले पोस्टमा व्याण्डका केही आगामी कन्सर्टको मिति पुनः फाइनल गर्न र त्यो रद्द हुनुपर्ने कारण पनि लेखेका छन्। ‘म र मेरो व्याण्डले न्यू हेम्पशायरमा प्रस्तुत हुन पाएनौँ। यसको मलाई निकै दुःख लागेको छ। तपाईंहरु नडराउनुहोला।
हामी युरोपमा तपाईंहरु सबैका लागि एक अद्भुत शो ल्याउँछौँ। यो गर्मीको अन्त्यमा इस्ट कोस्टमा उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले लेखेका छन्। जोनी रक सुपरग्रुप हलिउड भेम्पायर व्याण्डको हिस्सा हुन्। जसलाई सन् २०१२ मा जोनी, एलिस कुपर र जो पेरीले स्थापना गरेका थिए।































प्रतिक्रिया