बहुविवाहबाट जोगिन मोरङ मिक्लाजुङ गाउँपालिका–२ का ३३ वर्षीय विनोदराज शिवाले किर्ते कागजातका आधारमा दोस्रो नागरिकता बनाएको खुलेको छ। शिवलाई जिल्ला अदालत काठमाडौँले पूर्पक्षका लागि जेल चलान गरिसकेको छ।
अदालतमा पेश अभियोग पत्रअनुसार शिवाले नयन नेपालका नाममा नयाँ नागरिकता बनाएका थिए। २५ साउन ०७९ मा जिल्ला प्रशासन कार्यलय काठमाडौँबाट जारी नागरिकता अनुसार उनको बुबा ५३ वर्षी गोबिन्द नेपाल हुन्। उनको नयाँ नागरिकता नं. २७-०१-७९-०७२५४ हो।
नागरिकतामा उनको जन्मस्थान चन्द्रागिरि नगरपालिका– १९ खड्का गाउँ हो। जबकी, उनको वास्तविक जन्मस्थान मिक्लाजुङ गाउँपालिका–२ हो। उनको बुबाको नाम रघुनाथ शिवा दर्जी हो। उनले बिनोराज शिवाको नाममा १७ फागुन ०६३ मै इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङबाट नागरिकता लिएका थिए।
त्यसबेला जारी भएको नागरिकता प्रमाणपत्र नंं. ०५३१७–१५७१ हो। उनले नागरिकता बनाउने सिफारिस काठमाडौँ महानगरपालिका वडा नं. १० बाट लिएका थिए। यसका लागि उनले वडा कार्यालयमा जन्म दर्ता प्रमाण पत्र, बसाई सराईको प्रमाण पत्र मात्र नभई शैक्षिक योग्यताको प्रमाण पत्र समेत नक्कली पेश गरेका थिए।
सोही कागजातका आधारमा वडा अध्यक्ष रामकुमार केसीले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सिफारिस गरेका थिए।त्यसलगत्तै उनले नयाँ नागरिकता लिएका थिए । घटनामा मुछिएका वडाअध्यक्ष केसीलाई अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ।
अदालतको बयानमा शिवाले नक्कली कागजातका आधरमा नयाँ नागरिकता लिएको स्वीकार गरेका छन्। डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया जाने उद्देश्यले नयाँ नागरिकता बनाएको उनले बयानमा भनेका छन् ।
बयानमा उल्लेख छ,‘प्रहरीले बरामद गरेको दुवै नागरिकता मेरै हुन्। दुवै नागरिकता मैले नै लिएको हुँ। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागरिकता प्राप्त गर्ने क्रममा सिर्जना गरिएका कागजात मैले किर्ते गरेको होइन।’
प्रहरीका अनुसार बहुविवाहको मुद्दाबाट जोगिन उनले सबै परिचय बदलेर नयाँ नागरिकता बनाएका थिए। उनले सपना श्रेष्ठसँग पहिलो विवाह गरेका थिए।
त्यसपछि उनले कबिता हिङमाङसँग दोस्रो विवाह गरेका थिए। जेठी श्रीमति सपनाले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाहको मुद्दा हालेकी थिइन्। अदालतबाट दोषी ठहरिने भएपछि उनले सबै परिचय बदलेर नयाँ नागरिकता लिएका हुन्।
सोही नागरिकताका आधारमा उनले दोस्रो विवाह दर्ता गराएका थिए। नागरिकता प्रयोग गरि उनले प्रभु बैंकमा खाता समेत खोलेका थिए। अदालतसँगको बयानमा उनले नागरिकता बनाउन तीन लाख रुपैयाँ खर्च गरेका थिए। उनले पर्शुराम नामको बिचौलियामार्फत नयाँ नागरिकता बनाएका थिए।
बयानमा उनले नागरिकता बनाउन तीन लाख रुपैयाँ खर्च गरेको स्वीकार गरेका छन्। उनले भनेका छन्,‘वडा नं. १० मा गएर कागजात बनाउन ५० हजार रुपैयाँ दिएका थियौँ। पर्शुरामले गोविन्द नेपालको छोरा नयन नेपालको हैसियतमा मेरो नागरिकता बनाउन चाहिने सिफारिससमेत अन्य सबै कागजात बनाई मलाई सिफारिसमा ल्याप्चे गर्न लगाई सोही दिन म, गोविन्द र पर्शुराम जिप्रका काठमाडौँ गई कागजात पेस गरेको र अन्य सबै काम पर्शुरामले गरेको हो। गोविन्दले बाबुको हैसियतमा दस्तखत गराएपछि मैले नयन नेपालको नामबाट वंशजको नागरिकता प्राप्त गरेँ। नागरिकता प्राप्तिपछि पर्शुरामलाई बाँकी दुई लाख ५० हजार सोही दिन दिए।’































प्रतिक्रिया