मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।

मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो । उनले भने, “उहाँहरु त्यहीँ हुँदा दुर्घटना भएकाले पानीको बेगले बगाएको हो ।”

सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उनको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घटना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उनले बताए।

आयोजनाले सामान्य अवस्थामा के गर्ने भनी बनाएको कार्यविधिकै आधारमा अहिलेसम्म परीक्षण भइरहेको प्रवक्ता पन्तले बताए। पानी बाहिर जाँदा के गर्ने भन्ने पनि कार्ययोजनामा रहेको उनले बताए। पानी बाहिर निस्कँदा बस्तीलाई माइकिङ खबर गर्ने उल्लेख छ । घटना एक्कासी भएको र परीक्षणका लागि गएका व्यक्ति नै बगाएकाले खबर गर्न नपाइएको हो । उनले भने, “कुनै त्रुटि भएमा के गर्ने भन्ने पनि कार्ययोजनामा छ ।”

आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जोखिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ ।

सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किएपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताए। त्यहाँ कति पानी थियो भन्ने निर्माण व्यवसायीले बोर्डलाई जानकारी गराउने उनले बताए। आगामी दिनमा त्रुटि सच्चाएर र थप सर्तकता अपनाएर मात्रै पानी पठाइने आयोजनाले जनाएको छ । उनले भने, “घटनास्थलमा पुगेर हेरेपछि मात्रै घटनाको कारण र क्षतिका विषयमा जानकारी हुन्छ ।”

आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाए जस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय रहेको सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।

आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।रासस

Logo