सिन्धुपाल्चोक ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा आएको बाढीपहिराबाट घर भत्किएकाहरुको घर बनाउन पहल गर्ने भएका छन् । गत असार २५ गते आएको बाढीपहिरोका कारण विस्थापितले सुरक्षित ठाउँमा जग्गा खोजेका अवस्थामा घर बनाउन पूर्वमन्त्री बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने भएका हुन् ।
विस्थापित र घरबारविहीनको वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बताए। अहिले पनि भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार तातोपानी सुख्खा बन्दरगाहमा अस्थायीरुपमा बसिरहेका छन् ।
काँग्रेस वाग्मती संसदीय दलको सहयोग
काँग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई पाँच लाख सहयोग गरेको छ । वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । काँग्रेसले प्रतिपरिवार रु पाँच हजारका दरले रु चार लाख प्रभावित क्षेत्रमा वितरण गरेको छ ।
त्यस्तै काठमाडौँको ह्याम्स अस्पताल पुगेर तीन मृतकका परिवारलाई १० हजारका दरले र सात घाइतेलाई रु १० हजारका दरले रु एक लाख वितरण गरिएको संसदीय दलका सचिव निमा लामाले बताए ।रासस































प्रतिक्रिया