काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको शक्ति संघर्षले सम्पूर्ण देश नै बन्धक बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधी कित्तामा रहेका पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले न उनलाई हटाउन सकेका छन्, न त र पाँच बर्ष ढुक्कले देश चलाउनुस् भन्न सकेका छन् । ओली चाहिँ आफ्नो अडानमा स्पष्ट छन्, ‘प्रधानमन्त्री जनता र संसदले चुनेको हो, त्यसैले छोड्ने कुरा हुँदैन्, त्यसैगरी महाधिवेशनले मात्र पार्टीको अध्यक्ष परिवर्तन गर्नसक्छ ।
उनले प्रचण्डलाई स्पष्ट रुपमा भनेका छन्– ‘तपाईलाई मैले गर्न सक्ने भनेको पार्टी ढुक्कले चलाउनुस् भन्ने हो ।’ गत एक महिना यता दुई पक्षकाबीचमा जति पटक वार्ता भएपनि भएको कुराकानी भने यही हो । ओली कुनै हालतमा पछि नहट्ने पक्षमा छन् ।
प्रचण्डको विपक्षमा रहेका नेताहरुले उनलाई दुवै पदबाट हटाएर आफूहरुको बीचमा पद बाँडफाँड गर्नेसम्मको तयारी गरेका छन् । तर उनीहरुलाई यो पनि थाहा छ कि त्यसो भयो भने नेकपामा विभाजन आउने छ ।
आफूलाई जर्वरजस्ती गरेका पहिलेको अध्यादेश ब्युताएर पार्टी विभाजन गर्ने र विपक्षी नेपाली काँङग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने तयारी ओलीको छ । प्रचण्ड र नेपाललाई अर्काे डर समेत रहेको छ । पार्टी नै विभाजनको अबस्थासम्म पुग्यो भने अहिले दोस्रो तहका जो जो नेताहरुले प्रचण्ड र नेपाललाई साथ दिएका छन, उनीहरुले साथ नदिने सम्भावना पनि त्यति नै रहेको छ किनभने दोस्रो तहका धेरै नेता पार्टी विभाजनको विपक्षमा रहेका छन् ।
उनीहरुको दवावका कारण नेताहरु पार्टी विभाजनको अबस्थासम्म पुग्न सक्ने छैनन् । अर्काेतर्फ जनताको तहमा पनि यो सरकार ढलेमा देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने छ । प्रधानमन्त्री परिवर्तनले आफ्नो जीवनशैलीमा कुनै पनि फरक नपर्ने वुझाई जनताको रहेको छ । उता उत्तरी छिमेकी मुलुक चीनले पनि नेकपाभित्रको विवादमा चासो प्रकट गरी कुनै पनि हालतमा पार्टी विभाजन नगर्नका लागि दवाव दिईरहेको छ ।
यी सबै दबाबका बीचमा प्रचण्ड र नेपाल पक्ष निकै अप्ठेरो अबस्थामा रहेका छन् ।
त्यसैले ओलीलाई वहुमतको आधारमा हटाउने आँट प्रचण्ड र नेपाल पक्षले गर्न सकेका छैनन् । अहिलेको विवादको अर्काे पक्ष प्रचण्ड र नेपालकाबीचमा नै कसरी अगाडि जाने भन्नेमा एकमत नहुनु पनि हो । यतिवेला प्रचण्ड र नेपालका बीचमा एक प्रकारको मेलमिलाप रहेको छ तर ओलीलाई हटाएपछि ‘कसले के पद पाउने ?’ भन्ने कुनै टुंगो छैन ।
पार्टीको नेतृत्व र प्रधानमन्त्रीको विषयमा प्रचण्ड र नेपालको बीचमा नै मतभेद छ । दुवैका लागि प्रधानमन्त्री भन्दा पनि पार्टी अध्यक्ष प्यारो छ । ओलीपछि नेकपाका मुख्य प्रतिस्पर्धी प्रचण्ड र ओली नै हुन् । अथवा, नेकपाको नेतृत्वमा भोलि पूर्व एमाले र माओवादी को हावी हुने भन्ने लडाँइ हो ।
तर, अहिलेको जटिल अबस्था भनेको प्रचण्ड एक्लैले मात्र ओलीसँग निर्णय गरेर सम्भब छैन् किनभने अहिले चार नेताकाबीचमा एक प्रकारको ‘एलायन्स’ छ । प्रचण्डले अहिले ओलीसँग मात्र सहमति गरे भोलि नेपाल, खनाल र गौतमले साथ नदिने पक्का छ । त्यसैले नेकपाको विवाद तत्कालै हल नहुने देखिन्छ ।
विवाद हल नहुँदा यसले सरकारको काम कारवाही र शुशासनमा भने निकै असर गर्ने देखिन्छ । यसको प्रत्यक्ष असर कर्मचारीतन्त्रमा पर्नेछ किनभने कर्मचारीतन्त्रले सरकारलाई काम चलाउको रुपमा लिने छन् र सरकारका काम कारवाही प्रभावकारी रुपमा संचालन हुने छैन् । ओलीले पनि ढुक्कसाथ काम गर्न पाउने छैनन् किनभने जुनसुकै वेला आफ्नो सरकार संकटमा पर्ने भय उनलाई हुनेछ ।
नेकपाको विवाद बढ्दै जाँदा राष्ट्रपति विवादमा तानिने क्रम चलिरहने छ । यस अगाडि नै नेकपाको आन्तरिक विवादमा संलग्न भएको भनि राष्ट्रपतिको आलोचना भईरहेको छ ।































प्रतिक्रिया