प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बुटवल जाँदैछन्। बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रचण्ड बिहीवार बुटवल जान लागेका हुन्। बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको बिहान साढे दश बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।
दाहालसँगै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। यही जेठ १५ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारको बिहीबार औपचारिक उद्घाटन हुन लागेको हो।
दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन्। एउटा गोण्डुलामा एकपटममा ८ जना यात्रु सवार गर्न सक्नेछन्।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने आयोजना प्रमुख गोकुल साउदले बताए। बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ।
केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ।































प्रतिक्रिया