लकडाउनपछि अनलाइन सपिङमा उपभोक्ताको बढ्दो आकर्षण

लकडाउनपछि अनलाइन सपिङमा उपभोक्ताको बढ्दो आकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ देखि मुलुकभर लकडाउन जारीे छ । तर सरकारले एक महिना देखि लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । यसरी लकडाउन खुकुलो भएसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसाय सञ्चालनमा आएका छन । लकडाउनका समयमा अत्यावश्यक पसल बाहेकका अन्य व्यवसाय बन्द हुनु र मानिसहरु घरबाहिर निस्कन रोक लगाएकाले अनलाइन मार्फत सपिङ गर्ने उपभोक्ताहरु बढेका छन् ।
लकडाउन अवधिभर काठमाडौं उपत्यकामा अनलाइन मार्फत धेरै कम्पनीले उपभोग्य सामग्रीहरु ग्राहकको रोजाइअनुसार घरघरमा अनलाइन डेलिभरी गरिरहेका थिए । अहिले पनि उनीहरुकाे निरन्तरता जारी छ । यसबीचमा लकडाउनका कारण घरमै बसेका उपभोक्तालाई आवश्यक खाद्य सामग्रीहरुको अनलाइन डेलिभरीका लागि लकडाउनभन्दा अगाडि सञ्चालनमा रहेका तथा नयाँ होटल, रेष्टुरेन्ट र सरकारी स्वामित्वमा रहेका खाद्य कम्पनीले समेत सेवा विस्तार गरेर अनलाइन सपिङ सुचारु गरिरहेका छन ।

पश्चिमा मुलुकमा धेरै वर्ष अगाडिदेखि विकास भएको अनलाइन सपिङ नेपालमा विगत चार पाँच वर्षदेखि फस्टाउँदो छ । डिजिटल प्रविधिमार्फत घरमै बसीबसी आवश्यकताअनुसार अर्डर गरिएको सामान आउँदा यसप्रति उपभोक्ताको माग बढ्दो छ । यसको प्रभावकारीता लकडाउनले अझ बढाएको छ । त्यसैले काठमाडौं उपत्यकामा लकडाउनपछि भाटभटेनी सुपरमार्केट तथा होटल रेष्टुरेन्टहरु र सरकारी स्वामित्वमा रहेको खाद्य कम्पनीले समेत होम डेलिभरीको सुविधा दिएका छन ।
लकडाउनको मोडालिटी परिवर्तन भएपनि कारोना संक्रमित दिन प्रतिदिन बढी रहेकाले अत्यावश्क सामग्री घरमै ल्याइदिने अनलाइन सपिङ सजिलो र उपयुक्त विकल्प भएकाले उपभोक्ताको आकर्षण पनि बढेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । उनका अनुसार परम्परागत व्यापार भन्दा अनलाइन सपिङ अहिलेको अवस्थामा प्रभावकारी देखिएकाले काठमाडौं उपत्यकाका उपभोक्ताले अनलाइनमार्फत नै आफूलाइ चाहिने सामान अर्डर गरेर सामान खरिद गर्ने गरेका छन । उनले भने–‘अब यसको उचित मापदण्ड बनाएर अनलाइन सपिङलाई व्यवस्थित बनाउछौँ ।’

लकडाउनपछि सरकारले सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनी मार्फत अनलाइन सेवा सुरु गरेको थियो । यो सरकारको उपभोक्ताको लागि खाद्यान्न डेलिभरी गर्ने पहिलो अनलाइन सेवा रहेको छ । यस कम्पनीले लकडाउनको तीन महिनाको अवधिमा १५ लाख बराबरको अनलाइन कारोबार गरेको छ । तीन महिनामा कम्पनीले १५ लाख ५४ हजार ४ सय ८३ रुपैयाँको कारोबार गरेको खाद्य व्यापार तथा व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय लकडाउन खुकुलो भएपछि कम्पनीको कारोबार कम हुँदै गएको छ । लकडाउनको अवधिमा दैनिक ५०/६० जनाको अडर आउने गरेकोमा अहिले दैनिक २ देखि ३ वटामात्र अर्डर आउन थालेको उनले बताए । कम्पनीले अनलाइन सेवामार्फत चामल , सिमी, केराउ, घ्यू , नुन, आँटा र इन्डक्सन चुल्हो बिक्री गरिरहेको छ ।

त्यस्तै, सेल्सवेरीले पनि अनलाइन डेलिभरी गरिरहेको छ । लकडाउन पूर्व नै सुरु गरेको अनलाइन डेलिभरी सेवा लकडाउन बीच पनि आफ्ना ग्राहकलाई घरसम्मै पुगेर सहयोग गर्ने काममा सेल्सवेरी लागि परेको छ । बिग मार्टले पनि लकडाउनको बेला खाद्य डेलिभरी गरेको छ । यो सेवा अहिले पनि निरन्तर चलिरहेको छ । त्यस्तै, वर्गर हाउसहरुले पनि अनलाइन सेवा विस्तार गरेका छन । यिनीहरुले पनि उपभोक्तालाई आवश्यकता अनुसारका खाजा, खानाको डेलिभरी गरिरहेका छन ।

होटल द एभरेस्टको पनि होम डेलिभरी जारी
पाँचतारे होटल द एभरेस्ट होटलले पनि होम डेलिभरी सेवा जारी राखेको छ । होटलले आफ्नो फेसबुक पेजमार्फत खाना र खाजा डेलिभरी गरिरहेको छ ।

फुडमाण्डुको थप सेवा
लामो समयदेखि अनलाइन डेलिभरी गर्दै आएको फुडमाण्डुले लकडाउनको अवधिमा थप सेवा विस्तार गरेको छ । विभिन्न रेस्टुरेन्टहरुसँगको सहकार्यमा फुडमाण्डुले होम डेलिभरी सुविधा दिएको छ । यी लगायत अहिले बजारमा भाटभटेनी सुपरमार्केट, दराज, सेल्सवेरि, फुडमाण्डु डटकम, जिभि एप, ईजिकेयर डटकमले अनलाइन मार्फत सामान होम डेलिभरी गरिरहेका छन् ।

अनलाइन व्यापार व्यवस्थापन गर्न कानुनको अभाव
पछिल्लो समय अनलाइन व्यापार बढ्दै गएकाले यसलाई व्यवस्थित बनाउनको लागि अनलाइन व्यापारको कानुनको अभाव रहेको छ । यसलाई व्यवस्थित बनाउनको लागि कानुनी प्रक्रिया अगाडि बढाउन लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्यले जानकारी दिए । अनलाइन व्यापार भइरहेको र यसको व्यापारमा धेरै समस्या देखिएको उनको भनाइ छ । यी समस्या हल गर्नको लागि कानुनको अभाव रहेकाले छिट्टै कानुन बनाएर अनलाइन व्यावसायलाई व्यस्थित बनाउने उनले बताए ।

पछिल्लो समय नेपालमा स्मार्ट फोनको प्रयोग बढ्नु र इन्टरनेटको मूल्य पनि उपभोक्ताको पहुँचमा रहेकाले अनलाइन व्यापारतर्फ उपभोक्तालाई थप सहजता भएको छ । नेपालमा विगतदेखि अनलाइन व्यापार गर्दै आएको पहिलो अनलाइन दराज डटकम रहेको छ । यसले नेपालमा पहिलो अनलाइन सेवा व्यवसायीक रुपमा सुचारु गरेको थियो ।
अनलाइन सपिङ्गमा उपभोक्ता आफैँ सजक हुनु पर्ने राष्ट्रिय उपभोक्ता हित सरक्षण मञ्चका उपमहासचिव तिमल्सिनाले बताए । पछिल्लो समय अनलाइन सपिङ्गमा उपभोक्ताले गुणस्तरहिन सामान बढी मूल्य तिरेर ठगिने गरेको पनि पाइएकाले आफैँ सजक हुनु पर्ने उनले बताए ।

Skip This
Skip This
Logo