काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद अझै निष्कर्षमा पुग्न सकेको छैन । गत वैशाख ८ मा दुई अध्यादेश ल्याएपछि सुरु भएको पछिल्लो विवादका वाछिटाहरु अहिलेसम्म निरन्तर देखा परिरहेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याएका दुई अध्यादेशको विरोध गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २० जना स्थायी कमिटी सदस्यहरुले गत वैशाख १० मा दुई अध्यक्षद्वयलाई पत्र लेख्दै तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने माग गरेका थिए । तर ओलीको पार्टी बैठकप्रतिको वितृष्णाले स्थायी कमिटीको बैठक ६ महिनादेखि बस्न सकेन ।
राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको प्रतिपक्षी दल र पार्टीभित्रैबाट चर्को विरोध भएपछि वैशाख १२ मा प्रधानमन्त्री ओलीले फिर्ता लिन बाध्य भएका थिए । अध्यादेश जारी भएसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने मागले पार्टीभित्र प्रवेश पाएको हो । वैशाख १८ मा बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्ड लगायतका अधिकांश सचिवालय सदस्यहरुले ओलीको राजीनामा माग गरेका थिए ।
पार्टीभित्र शक्ति संघर्ष चर्किएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरुसँग वैशाख १९ मा भेटवार्ता गरेकी थिइन । संयोगवस राजदूत यान्छीसँगको भेटवार्ता को अर्कोदिन २० गते बसेको सचिवालय बैठकमा दुवै अध्यक्षले आत्मालोचना गरेर पार्टी एकतालाई अगाडि बढाउने सहमति गरेका थिए । दुई अध्यक्षको आत्मालोचनासँगै ओलीको राजीनामा तत्कालका लागि टरेको थियो ।
यस बीचमा पटक पटक स्थायी कमिटीको बैठक बस्ने मिति तय भए पनि अन्तिम समयमा आउँदै स्थगित हुँदै आएका थिए । पार्टी विधान अनुसार प्रत्येक तीन महिनामा एक पटक बस्नुपर्ने स्थायी कमिटीको बैठक करिब छ महिनासम्म बस्न सकेन । पार्टीको विधान अनुसार स्थायी कमिटी सदस्यमध्ये बहुमत सदस्यहरुले लिखित रुपमा बैठक बस्नुपर्ने माग गरे । बैठकको माग भएको १५ दिनभित्र स्थायी कमिटीको बैठक बस्नुपर्छ । तर स्थायी कमिटीको बैठक बस्न सकेन । लामो समयपछि गत असार १० देखि स्थायी कमिटी बैठक जारी छ । असार १० मा पहिलो दिन प्रधानमन्त्री ओली र प्रचण्डले आ–आफ्नो मन्तव्य राखेका थिए । पहिलो दिन बसेको बैठकमा स्थायी कमिटीको बैठकका लागि भन्दै सात एजेण्डा तय गरिएको थियो । अर्को बैठक असार १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ र १३ मा बसेको बैठकमा सीमा विवादमा केन्द्रीत रहेर स्थायी कमिटी सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए । धारणा राख्ने क्रम जारी हुँदा १४ गते ६९ औँ मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवस परेकाले दुई दिनका लागि बैठक स्थगित गरिएको थियो ।
मदन जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय राज्य संयन्त्रले आफू विरुद्ध षड्यन्त्र सुरु गरेको अभिव्यक्ति दिएका थिए । आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग नेपालको नक्सामा समावेश गरेकाले भारतीय पक्ष लागि परेको त्यसमा नेकपाबाटै साथ रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीबाट त्यस्तो अभिव्यक्ति आएपछि असार १६ र १७ मा बसेको बैठकमा बोल्ने सचिवालय र स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रचण्डले त भारतीय पक्षले नभइ मैले राजीनामा माग गरेको हुँ भन्दै खुल्लम खुल्ला ओलीलाई चुनौति दिएका थिए । उनको चुनौतिसँगै असार १८ मा पुनः बस्ने गरी बैठक स्थगित भएको थियो । तर असार १८ मा प्रधानमन्त्री ओलीले हतार हतार मन्त्रिपरिषद्को बैठक राख्दै चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
मन्त्रिपरिषदबाट सिफारिस भएको केही समयमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन् । प्रधानमन्त्री निवासमा जारी स्थायी कमिटी बैठकलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद अधिवेशन अन्त्य गरेको भन्दै प्रचण्डले स्थायी कमिटीको बैठकभित्र आक्रोश पोखेका थिए । बालुवाटारमै जारी बैठकमा संसद अधिवेशन अन्त्य गर्दा पार्टीभित्र छलफल गर्नु पर्दैन ? भन्ने उनको प्रश्न थियो । केही समय बसेको १८ गतेको बैठकमा जम्माजम्मी ५ जना सदस्यले धारणा राखेका थिए । त्यसदिन धारणा राख्ने सबैले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । १८ गते पछि २० मा पुनः बस्ने गरी बैठक स्थगित गरिएको थियो । यसबीचमा दुई अध्यक्षबीच सहमतिका लागि भन्दै वार्ता गर्न जिम्मेवारी दिइएको थियो । असार २० मा बस्ने भनिएको बैठक ओली र दाहाल पक्षबीच सहमति जुट्न नसक्दा २२ गतेसम्मका लागि स्थगित गरिएको थियो । २२ मा बस्ने भनिएको बैठक पनि सहमति जुट्न नसकेको भन्दै असार २४ गतेसम्मका लागि स्थगित गरिएको थियो । असार २४ मा पनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न नसक्दा असार २६ मा बस्ने गरी पुनः स्थगित भएको थियो । असार २६ मा पनि सहमति जुट्न नसक्दा आगामी साउन २ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।
दुई पक्षबीच सहमति हुन नसकेको विवरणहरु सार्वजनिक भइरहेको समयमा शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै पार्टी एकता पूरा गरेरै छाड्ने उद्घोष गरेका थिए । त्यसको अर्को दिन गृहजिल्ला चितवन पुगेका प्रचण्डले पनि पार्टी एकता पूरा गर्न आफूले अन्तिम समयसम्म धैर्यता नगुमाउने अभिव्यक्ति दिएका थिए । ओली र प्रचण्डको धेरै पछि एउटै स्वर आउनुलाई कतै नेपाल पक्षलाई छोडेर प्रचण्ड ओली गुटमा शरण लिन पुगेका त हैनन भन्ने ? विवरणहरु सार्वजनिक भएका थिए । तर नेपाल निकट मानिने स्थायी कमिटी सदसस्यहरु माधव नेपाललाई छोडेर प्रचण्ड जान सक्ने अवस्था नभएको दाबी गर्छन् । ती नेताको दाबीलाई मंगलबार बसेको बैठकले पनि आंशिक रुपमा पुष्टि गर्छ । प्रचण्ड गृह जिल्लाबाट फर्किएर मंगलबार करिब १ घण्टासम्म चलेको भेटवार्ता विना निष्कर्ष टुंगिएको थियो । यसअघि गत बुधबार दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।
बुधबारको भेटवार्तामा पनि दुवै अध्यक्षले आ–आफ्ना अडान दोहोर्याएका थिए । गत बुधबारसम्म प्रत्येक दिन भेटवार्ता गर्दै आएका दुई अध्यक्षबीचको छलफल पछिल्लो ६ दिनदेखि रोकिएको थियो । मंगलबार बसेका बैठक पनि विना निष्कर्ष टुंगिएको थियो । यसअघि निरन्तर गत आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच (वान टु वान) भेटवार्ता भएको थियो । पहिले आ–आफ्ना सहयोगी साथमा राखेर वार्ताको सुरुआत गरिए पनि पछि वान टु वान मोडलमा वार्ता भएको थियो । आज पनि दुई अध्यक्षबीच वार्ता भयाे तर निष्कर्ष आएन ।































प्रतिक्रिया