सांसदहरुलाई अर्थमन्त्रीकाे जवाफः ‘बजेट कठिन परिवेशमा आएको छ, सोहीरुपमा बुझ्नुहाेला’

सांसदहरुलाई अर्थमन्त्रीकाे जवाफः ‘बजेट कठिन परिवेशमा आएको छ, सोहीरुपमा बुझ्नुहाेला’

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले वैदेशिक र आन्तरिक ऋण, राजस्व सङ्कलनको अवस्था, कोरोना महामारी र रुस-युक्रेन युद्धको असरले पु‍-याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको बताएका हुन् । 

बढ्दै गएका समस्या एउटा मात्रै धक्काले मात्र समाधान हुन्छ भनि बजेटमा नभनिएको भन्दै उनले यी सबै समस्या  एक–एक गरी समाधान गर्ने गरी बजेट निर्माण गरेको दाबी गरे । उनले बजेट वितरण गर्ने प्रवृत्तिलाई अझै पनि नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । 

“थप वैदेशिक अनुदानका लागि प्रतिबद्धता आएको छ । सरकारले प्राथमिकता निर्धारण जनताका आवश्यकताका आधारमा गर्ने हो”, उनले भने, “बजेट नाराका लागि होइन, कार्यान्वयन हुने गरी आएकोमा म स्पष्ट पार्न चाहन्छु ।”

बजेटको आकारका विषयमा उठेको प्रश्नका सन्दर्भमा अर्थमन्त्री महतले सीमित साधन र स्रोतका आधारमा काम गर्नुपर्ने अवस्था रहेको र त्यसकै आधारमा प्राथमिकता निर्धारण गरिएको बताए । तिर्नुपर्ने ऋणको दायित्व बढेको अवस्था, राजस्वको र वैदेशिक सहयोगको घट्दो अवस्थालगायत कारण चालु आवकोभन्दा आगामी आवको बजेट कम आकारको भएको उनको भनाइ छ । 

अर्थमन्त्री डा महतले संसदीय विकास पूर्वाधार कार्यक्रमले पुँजीगत खर्च बढाउन योगदान पुग्नेमा विश्वास व्यक्त गरे । उनले सांसदले क्षेत्रमा बजेट पुगेन भनी गुनासो गर्नुभएकाले यो कार्यक्रम राखिएको समेत बताए । 

कुनै ठाउँमा कार्यक्रम छुटेमा त्यसलाई सम्बोधन गर्न संसदीय विकास पूर्वाधार कार्यक्रमबाट कम्तीमा रु पाँच करोड सुनिश्चित हुन्छ भन्ने उद्देश्य राखिएको अर्थमन्त्री महतको भनाइ छ । “हरेक क्षेत्रमा दिइने रु पाँच करोड सांसदको खल्तीमा जाने पैसा होइन, सडक, सहरी पूर्वाधार, पर्यटन पूर्वाधारमा यो खर्च हुन्छ, यसका लागि सांसदले सिफारिसमात्र गर्ने हो, सांसदले सिफारिस पनि गर्न नपाउने भन्ने कुरा जायज छैन, खर्च गर्न नचाहने सांसदको रकम अत्यावश्यक पुँजीगत खर्चमा रकमान्तर गर्न सकिने छ”, उनले भने । 

सुख, दुःखमा सांसदले सहयोग गरुन् भन्ने जनताको माग भएकैले एक सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका सांसदले यसको सिफारिस गर्नसक्ने गरी कार्यविधि निर्माण गरिने पनि अर्थमन्त्री महतले स्पष्ट पारे । भौतिक विकासमा जनताको धेरै माग भएकाले नै यस्तो व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।

Logo