ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छः अध्यक्ष ढकाल

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान)को २१औँ वार्षिक साधारणसभालाई  बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले कुल जडित क्षमताको दुई तिहाइ भन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताएका हुन् । 

तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युत् समेत विक्रीगर्न नसकेको बताउँदै निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताए ।

अध्यक्ष ढकालले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीब्रता पाउने विचारसमेत व्यक्त गरे । “अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छ । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,” उनले भने । 

ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद् रहेको बताउँदै उनले भारतले १० वर्षमा १० हजार मेगावाट विजुली लिने प्रतिवद्धता जनाएको जानकारी गराए । 

हालैको विम्सटेक मिटिङ्गका क्रममा पनि नेपालको विद्युत्को बारेमा कुरा उठेको बताउँदै अध्यक्ष ढकालले नेपाललाई दक्षिण एशियामात्र नभई दक्षिण पूर्वी एशियाको समेत ब्याट्रीको रुपमा विकास गर्ने सम्भावना रहेको बताए ।

Logo