सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयोः अर्थमन्त्री महत

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयोः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् । 

आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका हुन् । उनले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताए । 

सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताए । उनले आगामी आवको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गरे । उनले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवद्र्धनमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा पूर्वरक्षामन्त्री डा मीनेन्द्र रिजालले कुनै समयमा पहिलो नम्बरमा रहेको विराटनगर सहरमा उद्योग र व्यापार फस्टाउन नसक्दा पछि परेको बताए । उनले बिराटनगर र यस आसपासका क्षेत्रको विकासका लागि बिराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु आवश्यक रहेको भनाइ व्यक्त गरे । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरका लागि सरकारले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गरे । 

Logo