राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउन केन्द्रित भएको आरोप लगाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको सरकारले भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको भनाई थियो। शुक्रबार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए।
‘सरकार अल्मलियो। सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरुले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। यो चाँही मोर्चा बनाएको थाहा पायौं। मोर्चामा सरकारमै सहभागी दलहरु छन्। अब यो के हो ? बुझ्न जरुरी भयो। उनले भने ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु । ’
सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेकोसमेत आरोप लगाए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए। कारण के थियो भने–जुन ढंगले यसको इन्भेस्टिगेशन भईरहेको थियो। त्यहाँ इन्भेस्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए। अनेक कुराहरु आए। तर, त्यस विषयमा छानविन अगाडि बढन सकेन। र, अहिले जुन ढंगले छानविन सकिएको त छैन। तर, जुन परिणामहरु आइरहेको छ। त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन।’ उनले भने ।































प्रतिक्रिया