सुरक्षाका मापदण्ड अपनाएर थोरै क्षमतामा भएपनि पर्यटन व्यवसाय सञ्चालन गर्ने तयारी

सुरक्षाका मापदण्ड अपनाएर थोरै क्षमतामा भएपनि पर्यटन व्यवसाय सञ्चालन गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गर्दा पर्यटन व्यवसाय सबैभन्दा धेरै संकटमा परेको छ । यसरी मुलुक लकडाउन हुँदा अन्तराष्ट्रिय हवाइ उडानदेखि सिमानाकासम्म बन्द भएपछि पर्यटक आउन पाएका छैनन् ।

कोरोना भाइरस नेपाल प्रवेश गरेसँगै नेपाल पर्यटन वर्ष २०२० नै स्थगन हुन पुग्यो । यता पर्यटन वर्ष मनाईरहँदा होटल व्यवसायीले पर्यटकलाई सुविधा सम्पन्न होटलको लागि लगानी थपेका थिए । होटल एसोसिएशन नेपालको तथ्याङ्क अनुसार नेपालमा होटल क्षेत्रमा मात्र करीब १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रुपमा आश्रित छन् ।

नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा होटल क्षेत्रको मात्र योगदान पाँचदेखि सात प्रतिशतसम्म रहेको छ । तर अहिले यो क्षेत्रले प्रत्येक महिना कम्तीमा पनि एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको छ । यो क्षति होटल क्षेत्रको मात्र हो र यससँग जोडिएर आउने अन्य पर्यटकीय संरचनाहरु हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबास (होमस्टे) आदि अरू धेरैको अलग्गै छन् ।

एकजना विदेशी पर्यटकले नेपाल प्रवेश पाउँदा उनीबाट कम्तीमा पनि ११ जना नेपालीले रोजगारी पाउँछन् । पर्यटकका लागि हुने हवाईदेखि सडक यातायात हँुदै ट्राभल एजेन्सीदेखि अरू धेरै क्षेत्र यसमा संलग्न हुन्छन् । पर्यटन क्षेत्रको यो पूरै ‘साइकल’ चार महिना यतादेखि ठप्पै छ ।

अर्थतन्त्रका धेरै अवयव र आयामहरु मध्ये कुनै पनि देशको एक दरिलो खम्बा पर्यटन हो । यसले आर्थिक विकासका लागि सघाउने मात्र नभएर सांस्कृतिक आदान प्रदानका माध्यमबाट विश्व व्यवस्थालाई नै एक प्रकारले ‘भेन्टिलेट’ गर्ने काम गर्दछ । तर यसैको अभावमा अहिले विश्व उकुसमुकुसको अवस्थामा छ । नेपाली अर्थ व्यवस्थामा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगट्छ । नेपालको पर्यटन क्षेत्रले मात्र अर्थतन्त्रको कूल रोजगारी मध्ये कम्तीमा पनि २० प्रतिशत योगदान पु¥याउँदै आएको छ भने कूल ग्रार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान उल्लेखनीय छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यो महामारीको अवस्थामा पहिलो काम मानिसको ज्यान बचाउनु भएकाले पर्यटन उद्योग बचाउनको लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाएर थोरै क्षमतामा भए पनि व्यवसाय खोल्नेतिर जानुपर्ने बताएका छन् ।

त्यस्तै, ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुवेदीले पनि पर्यटन क्षेत्रमा अब धेरै अप्ठेरो अवस्था आएकाले थोरै क्षमतामा नै भए पनि सञ्चालन गर्ने नीति राज्यले ल्याउनुपर्ने बताएका छन् । ट्रेकिङ क्षेत्रका व्यवसायीहरुले पनि अहिलेसम्म कम्तीमा १५ अर्ब नोक्सानी व्यहोरिसकेको सुवेदीको भनाइ छ ।

होटल एसोसिएशन नेपालका अध्यक्ष सृजना राणाले यो महामारीले धेरै ठूलो क्षति मुलुकको होटल क्षेत्रलाई पुर्याएको भन्दै सुरक्षित मापदण्ड अपनाएर र अहिलेको महामारीबाट कसैलाई पनि असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताएकी छिन् ।

Logo