साफ च्याम्पियनसिपमा साविक उपविजेता नेपालको सुखद् अन्त्य, पाकिस्तानमाथि जित

साफ च्याम्पियनसिपमा साविक उपविजेता नेपालको सुखद् अन्त्य, पाकिस्तानमाथि जित

केन्द्रबिन्दु
0
Shares

साविक उपविजेता नेपालले भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ । 

मंगलबार बेंग्लोरस्थित कान्तिराव स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानमाथि १-० गोलअन्तरको जित निकाल्दै नेपालले प्रतियोगिताको अन्त्य गरेको हो । नेपालको जितमा आशिष चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । 

खेलको पहिलो हाफमा राम्रो अवसर पाएपनि गोलमा परिणत गर्न नसकेर गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो हाफमा भने अग्रता लिन सफल भएको थियो । खेलको ८०औं मिनेटमा चौधरीले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट गरेको शक्तिशाली प्रहार नै सानदार गोलमा परिणत भयो । उक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्न खोजे तर, सकेनन् । आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।

प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको नेपालको यो पहिलो जित हो । नेपालले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो ।  समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आमन्त्रित टोली कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो। 

पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ। 

Skip This
Skip This
Logo