दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ ।
यसवर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।
गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए । “जिल्लामा यस वर्ष अहिलेसम्म करिब १० प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ”, उनले भने, “वर्षा ढिला हुँदा यस वर्ष अझै पनि ९० प्रतिशत खेत रोप्न बाँकी छ ।”
गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष धेरै कम रोपाइँ भएको छ”, उनले भने । यस वर्ष वर्षा समयमै नहुँदा किसानले बीउ समयमै राख्न नपाएको उनले बताए । “किसानले वर्षा ढिला भएकाले बीउ समयमा राख्न पाएनन्”, उनले भने, “बीउ भएको भए अहिले वर्षाको समयमा छिटो रोपाइँ हुन्थ्यो ।”
उनका अनुसार जिल्लामा दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा यस वर्ष बढी धान रोपाइँ भएको छ । राप्ती नदीको पानीले राप्ती गाउँपालिकाका अधिकांश खेतमा अहिलेसम्म रोपाइँ सकिएको छ । यस्तै गढवाका केही भागमा मात्रै अहिलेसम्म रोपाइँ सकिएको सूचना अधिकारी लामिछानेले बताए ।
“राप्ती नदीको पानीले राप्ती र गढवा गाउँपालिकाका केही भागमा यस वर्ष अहिलेसम्म बढी रोपाइँ भएको छ”, उनले भने, “दाङको बबई नदीको पानीले तुलसीपुरका केही वडामा मात्रै रोपाइँ सकिएको छ ।”
दाङ उपत्यकामा वर्षा सुरु भएपछि मात्रै धानको ब्याड राख्न थालिएको उनले बताए । अहिले राखेको धानको बीउ साउनको पहिलो सातादेखि रोप्न सकिने उनले बताए । “धानको बीउ सामान्यतया २०/२२ दिनदेखि रोप्न सकिन्छ”, उनले भने, “अहिलेको वर्षा कायम रहेमा साउनको दोस्रो सातासम्म रोपाइँ सकिन्छ ।” खडेरी भएमा रोपाइँ फेरि प्रभावित हुनसक्ने उनले बताए ।































प्रतिक्रिया