अस्थिरता बढाउने छुट कसैलाई छैन, सबैले संयमता अपनाऔँ : बाबुराम भट्टराई

अस्थिरता बढाउने छुट कसैलाई छैन, सबैले संयमता अपनाऔँ : बाबुराम भट्टराई

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसालाई गम्भीर र चिन्ताजनक घटनाका रूपमा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त घटनामा एकजना युवाले ज्यान गुमाउनुका साथै सुरक्षाकर्मीसहित २२ जना घाइते भएकोप्रति दुःख र चिन्ता व्यक्त गरेका हुन्।

उनले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समय, बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक परिवेश तथा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने चरणमा रहेका बेला यस्ता सामाजिक सद्भाव बिगार्ने घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

भट्टराईले जेनजी विद्रोहपछि गठन भएको नवनिर्वाचित सरकार, सम्पूर्ण राजनीतिक दल तथा आम नागरिकले परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै विवेक, धैर्य र संयमका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

कुनै पनि बहानामा मुलुकलाई विकासविहीनता र राजनीतिक अस्थिरतामा धकेल्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्,’ भट्टराईले भनेका छन्, ‘हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन।’

Logo