राष्ट्रिय टोलीले जिम्बाब्वेमा एकपछि अर्को हार व्यहोर्दै विश्वकपमा छनौट हुने सपना र सुपर सिक्समा पर्ने सम्भावना टुङग्याउर्दै गर्दा उमेर समुहतर्फ भने नेपाली टोली एकपछि अर्को खेलमा निरन्तर जित निकालिरहेको छ ।
२६ जुनबाट सुरु एसिसी इस्ट जोन कपमा नेपाली टोलीले पहिलो खेल थाइल्याण्डविरुद्ध खेलेको थियो । उक्त खेलेमा नेपालले थाइल्याण्डका ८ खेलाडीहरुलाई शुन्य रनमै आउट गर्दै बलियो बलिङको उदाहरण पेश गरेको थियो । थाइल्याण्डविरुद्धको पहिलो खेलमा नेपाललले २७० रनको विशाल लक्ष्य दिँदै बलिङतर्फ पनि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको थियो । सो खेलमा नेपालले थाइल्याण्डलाई ४४ रनमा अल आउट गरेको थियो ।
यसैगरी शुक्रबार भएको दोस्रो खेलमा नेपाली युवा टोलीले मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालई १८४ रनको विजयी लक्ष्य दिएको थियो । तर मलेसिया ३३.५ ओभरमा ९९ रनमै अल आउट भएको थियो । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालको जितमा अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट इनिङ खेले । बलिङमा चार विकेट लिएका अशोक नै प्लेयर अफ द म्याच चुनिए ।
एक समय ९१–७ को दयनीय अवस्थामा पुगेको नेपाललाई खेलमा फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । अभिषेक तिवारीले ४.५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए भने कृतिक कामतले एक विकेट लिए ।
दुई खेल जित्दै सेमिफाइनल प्रवेश गरेको नेपालले १८ गते सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुर अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि नेपालले सेमिफाइनलमा सिंगापुरसँग खेल्ने पक्का भएको हो । नेपाल समुह ‘ए’ को विजेता र सिंगापुर समुह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेल सोमबार हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेल मंगलबार मलेसिया र हङकङबीच हुनेछ । त्यसैगरी फाइनल तथा तेस्रो स्थानको लागि मंगलबार प्रतिस्पर्धा हुनेछ ।
५ राष्ट्र सम्मेलित प्रतियोगितामा नेपालको पहिलो र दोस्रो खेलको प्रदर्शनलाई हेर्दा प्रतियोगिता नै सहजै आफ्नो पक्षमा पार्ने देखिन्छ । तर सिंगापुर निकै बलियो टोली भएकाले नेपालले सोमबार हुने खेलमा यसै नतिजा निकाल्न सक्ला भन्न सकिन्न । सिंगापरले पछिल्ला दुई खेलमा माल्दिभ्सलाई २ सय ४५ र इन्डोनएसियालाई १ सय ४ रनले हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । हङकङसँग सिंगापुर ७ विकेटले पराजित हुन पुग्यो । यदि नेपालले सोमबारको खेल जितेको खण्डमा पनि फाइनलमा हंगकंगसँग भेट हुने प्रबल सम्भावना रहेको छ । सोही कारण नेपालले अब हुने दुई खेलमध्ये दुबैमा जित निकाल्नु बाहेक अन्य कुनै विकल्प छैन् ।































प्रतिक्रिया