पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छः मन्त्री किराती

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन् । 

उनले सञ्चालन गरेकाे ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

पर्यटकहरुलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिकस्तरबाट अगुवाइ गर्नुपर्नेमा उनको जोड थियो ।

“पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हरभरा बनाउन आवश्यक छ”, मन्त्री किरातीले भने, “हाम्रो सुन्दर देशलाई अझ सुन्दर बनाउने हाम्रो दायित्व हो, आफ्नो ठाउँको विकासका लागि हामीले हप्तामा दुई घन्टा समय दिन सक्यौँ भने त्यसले देश निर्माणमा पनि योगदान पुग्छ ।” आफ्नो ठाउँमा पर्यटकलाई बसौँबसौँ लाग्ने बनाउन आवश्यक रहेको उनले बताए । 

आफ्नो घर अगाडि फोहर होइन फूल भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री किरातीले बताए । यसका लागि नागरिकले हप्तामा दुई घन्टा श्रमदान गर्ने बानी बसाल्नुपर्ने  उनको भनाइ छ । 

उनको अगुवाइमा जिल्ला अस्पतालसँगै बजार क्षेत्रको सरसफाइ गरिएको छ । 

Logo