प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौंमा चीन भ्रमणमा जाने भएका छन्। कैलालीमा सोमबार सञ्चारकर्मीसँग परराष्ट्रमन्त्री एनपी साउदले भदौंमा हुने गरी प्रधानमन्त्री दाहालको भ्रमण तयारी भइरहेको बताएका हुन्। भ्रमणको एजेन्डा र भेटघाटको कार्यतालिका भने तय हुन बाँकी छ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले थप २ जनालाई पक्राउ गरेको छ । समर्जिङ कम्पनीका तत्कालिन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । योसँगै जग्गा प्रकरणमा पक्राउ पर्ने ९ जना पुगेका छन्।
काठमाडौं महानगरपालिकाले ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ। महानगरले सोमबार सूचना जारी गर्दै भ्रमण निर्माण सम्पननताको प्रमाणपत्र जारी नगर्ने समेत स्पष्ट पारेको छ।
सहकर्मी कुटिएको विरोधमा देशैभरका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अदालतमा बहसपैरवी प्रभावित भएको छ। अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कुटपिट गरेको विरोधमा अदालतका कर्मचारीले पनि आइतबार दिउँसो कामकाज ठप्प पारेका थिए। लामिछानेविरुद्धको मुद्दा खारेज हुनुपर्ने नेपाल बारको माग छ।
सुनसरीका दुई उपमहानगरहरु धरान र इटहरीबीचको सीमा विवाद फेरि सतहमा आएको छ। धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीले सीमा क्षेत्र पानीपियामा राखेको बोर्ड हटाएर इटहरी उपमहानगरले उत्तरमा रहेको सेउती खोला नजिकै आफ्नो बोर्ड राखेको छ।
इटहरीले बोर्ड हटाएपछि हर्कले भनेका छन्, नापी विभागको नक्सा अनुसारको सीमा हो। म फेरि बोर्ड राख्छु ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ। पहिलो दिन सोमबार वन तथा वातावरण, महिला, युवा तथा खेलकुद, सहरी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमाथि विनियोजित रकममा सांसदहरुले धारणा राखेका छन्।
दोस्रो जनआन्दोलनका कमान्डर एवं नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको एक सयौं जन्मजयन्ती आज मनाइएको छ। नेपाली कांग्रेस र उसका शुभेच्छुक संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर नेपालको राजनीतिमा गिरिजाप्रसादको योगदानको चर्चा गरे।
श्रीलंकन कम्युनिष्ट पार्टीको ८०औं स्थापना दिवसमा सहभागी हुन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोलम्बो उडेका छन्। उनको अनुपस्थितिमा नेकपा एसको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्हाल्नेछन्।
वैदेशिक रोजगारीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै जनाले श्रम स्वीकृति लिएका छन्। चालु आर्थिक वर्षको असार १६ गतेसम्म सात लाख ४० हजारभन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०५०–०५१ देखि नेपाली युवाहरु वैदेशिक रोजगारमा जाने गरेका हुन् ।
नेप्से परिसूचक सोमबार २१ दशमलब ३२ अंकले घटेर २०७५ दशमलब ३२ अंकमा झरेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ।
इजरायलले अमेरिकासँग एफ ३५ नामक लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ। यसका लागि इजरायलले ३ अर्ब डलर खर्चिनेछ।
नेपाल एसिसी अन्डर १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। जारी प्रतियोगितामा अपराजित रहेको नेपालले सोमबार भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हरायो।
नेपालले उपाधिका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। मलेसिया हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले मंगलबार आईसिसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो। प्लेअफको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले आयरल्याण्डसँगको भेट पकका गरेको हो। नवौं स्थानका लागि भने यूएई र अमेरिकाबीच खेल हुनेछ।






























प्रतिक्रिया