त्यो बेलाकी ‘जुलिया चाङ’ र यो बेलाकी ‘होउ यान्छी’

त्यो बेलाकी ‘जुलिया चाङ’ र यो बेलाकी ‘होउ यान्छी’

केन्द्रबिन्दु
0
Shares

तीन दशकअघिको नेपालको जनआन्दोलनकालको सबैभन्दा सशक्त एवं प्रभावी विदेशी साक्षी थिइन्- जुलिया चाङ । नेपालका लागि अमेरिकन राजदुत धेरै आए, तर जुलिया चाङले नेपाली समाजमा यस्तो प्रभाव कायम गर्न सफल भइन् कि अहिलेसम्म धेरैले उनको तत्कालीन भूमिकालाई बिर्सिन सकेका छैनन् ।

२०४५ सालदेखि नेपालमा अमेरिकी राजदूत बनेर आएकी चिनियाँ मूलकी कुटनीतिज्ञ चाङ यसकारण पनि नेपाली राजनीतिमा सधैं सम्झिरहने पात्र हुन् जसले कांग्रेस नेता शेरबहादुर देउवा र आरजू राणाको घरजम गराउनमा ‘लमी’को काम गराएकी थिइन् ।

पानीपोखरीमा रहेको अमेरिकी दूतावासमा राजदूत भेट गर्न गएकी आरजु र त्यही समयमा दूतावास पुगेका शेरबहादुर देउवासँग चिनापर्चीदेखि विवाहको प्रस्ताव गराउनेसम्म उनै जुलिया थिइन् । पछि राजनीतिक वार्तालापहरुमा संयोजनकारी भूमिका निभाउनेदेखि बिभिन्न अमेरिकी उद्योगहरुलाई नेपालमा लाइसेन्स दिलाउनेसम्मका सरोकारमा संलग्न रहिन् । यस विषयमा उद्यमी बिनोद चौधरीको आत्मबृतान्तमा पनि उल्लेख गरिएको छ ।

तीन दशकपछि अर्की महिला कुटनीतिज्ञ उसैगरी नेपाली राजनीतिमा छाएकी छिन्- उनी हुन्, नेपालका लागि बहालवाला चिनियाँ राजदूत होउ यान्छी । नेपालको राजनीतिमा देखिएको विवाद, सत्ता गठबन्धन र हेराफेरीका माझ राजदूत यान्छी राष्ट्रपति, प्रधानमन्त्री हुँदै पुर्व प्रधानमन्त्री र मन्त्रीहरुसँग जुनै समयमा पनि भेट्ने र राजनीतिक सरगर्मीमा बहस गर्न सक्ने ल्याकत राख्छिन् ।

एकातर्फ कुटनीतिक मर्यादा र शिष्टाचारका चर्को कुरा भैरहेका छन् अर्कातिर परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेतलाई जानकारी नदिई राजदूत यान्छीले गरिरहेको भेटघाटले विगतमा भारतीय राजदूतले काठमाडौंमा गर्ने गरेको यस्तै खेलकुद र भागदौडलाई सम्झाएको छ । वर्तमान नेकपा गठबन्धलाई यहासम्म ल्याउन र अहिलेको कम्युनिष्ट सरकारको गठनलाई यथावत राखिराख्नमा चिनियाँ चासो र सरोकारलाई अघि बढाउन राजदूत यान्छीले भूमिका निभाइरहेको बिज्ञले बताएका छन् । यति सम्म कि, पछिल्लो एक दशकयता काठमाडौंमा रहेका कोही पनि राजदूत यति ब्यस्त देखिएका थिएनन्, जति यान्छी देखिएकी छिन् ।

राजदुत यान्छी र तत्कालीन राजदुत चाङबीच केही रोचक समानता छन् । दुईजना महिला कुटनितिज्ञ जो सक्रियताका हिसाबले अत्यधिक चर्चामा छन् । उनीहरुको सक्रियता एउटा पक्षलाई स्वीकार्य लागे पनि अर्को पक्षले त्यसलाई हस्तक्षेपको नजरबाट हेरिरहेको छ ।

सबैभन्दा रोचक पक्ष चाङ र यान्छी दुवै चीनमा जन्मिएका हुन् । ९ वर्षको उमेरमा अमेरिका पुगेकी चाङ अमेरिकी इतिहासमै पहिलो एसियाली मुलकी अमेरिकन राजदुत हुन् । उनलाई राष्ट्रपति जर्ज वुशले नेपालमा खटाएका थिए । ०४६ सालको आन्दोलनमा सक्रिय साक्षी उनी सन् १९८९ देखि सन् १९९२ सम्म, तीन वर्षका लागि नेपालको कार्यकालमा रहिन् ।

जुलियाले दक्षिण एशियाविज्ञका साथै विशेषत नेपाल विज्ञको ट्याग बनाइन् । दक्षिण एशियाको सुरक्षात्मक रणनीतिमा विज्ञ उनी पछिल्लो समय अमेरिका चीन एजुकेसन ट्रष्टमा कार्यरत थिइन् ।

तत्कालीन समयमा प्रतिस्पर्धी शक्तिसम्पन्न दुई मुलुक संयुक्त राज्य अमेरिका र सोभियत युनियनबीचको शितयुद्ध पश्चात अमेरिका विश्व नै हल्लाउने गरि शक्तिशाली बन्दै गर्दा जुलिया चाङ नेपालको राजदुत भएर आएकी थिइन् भने अहिले पछिल्ला वर्षहरुमा सर्वशक्तिमान अमेरिकालाई चुनौती दिँदै शक्तिशाली राष्ट्रको पहिचान बनाउन अग्रसर चीनकी यान्छी नेपालको राजदुत भएर आइन् ।

अहिले यान्छीको भूमिका हेर्दा उनलाई चीन सरकारले विशेष भुमिका निर्वाहका निम्ती पठाएको अनुमान गर्न सकिन्छ । उनको विशेष सक्रियताले त्यसलाई प्रष्ट पार्छ ।

यी कुटनैतिक विज्ञ नारीहरु राजदुत बनेर नेपाल आउँदै गर्दा उनीहरुको मुलुकको अवस्था विश्वलाई प्रभाव पार्ने गरि शक्तिशाली बन्ने बाटोमा अग्रसर भएको देखिन्छ । जुलिया नेपालको राजदुत बनेर आउँदा तत्कालीन अवस्थाको संयुक्त राज्य अमेरिका विश्वकै सर्वाधिक शक्तिशाली मुलुक बन्दै गरेको अवस्था थियो । यस्तै अहिले यान्छी राजदुत बनेर नेपाल आउदै गर्दा चीन पनि अमेरिकाको त्यहि पोजिसन हासिल गर्ने बाटोमा छ । यो आफैंमा अर्को रोचक पक्ष हो ।

जुलिया यो भूराजनीतिक क्षेत्रबारे राम्रो अवगत भएर नै हुनसक्छ, उनलाई यो क्षेत्रको अध्ययन केन्द्रमा राखिएको छ । अबका दिनमा यान्छीको उपस्थिती पनि त्यसरी नै अगाडि बढ्न सकिने आँकलन गर्न सकिन्छ ।

जुलियाले नेपाली काँग्रेस, अझ विशेष गरि शेरबहादुर देउवाका निम्ती जसरी अमेरिकन आँखा सदैव सकारात्मक हुने बनाइदिइन् । नेपालका कम्युनिष्टका निम्ती यान्छीले त्यहि किसिमको चिनियाँ दृष्टिकोण सेट गरिदिन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसो त, काठमाडौंमा बसेर यान्छीले पाउने सफलतामा चीनको नेपालप्रतिको स्वार्थ पुरा हुनेमा विश्वास गर्न सकिन्छ ।

चाङले तत्कालीन परिवेशमा उच्च राजनीतिक नेतृत्व सबैसँग जसरी घुलमिल, कुराकानी र सम्बन्ध अघि बढाएकी थिइन् त्यसैगरी यान्छीको सक्रियता बढेको देखिन्छ ।

नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराइसँग पनि जुलिया चाङले बाक्लै भेटघाट गर्थिन् र राय सल्लाह दिन्थिन् । अहिले यान्छी पनि प्रधानमन्त्री र मुख्यगरि सत्तारुढ दलका उच्चपदस्थ नेताहरुसँग त्यहि किसिमको भुमिकामा देखिन्छिन् ।

अर्को रोचक पक्ष के छ भने, काठमाडौंका सो कल्ड ईलिट पर्सनहरुसँग अर्थात तत्कालिन समाजका एउटा सम्भ्रान्त वर्गसँग जुलिया चाङको राम्रो सम्बन्ध थियो भन्ने कुरा आरजु राणासँगको सम्बन्धले प्रष्ट्याउँछ । अहिले यान्छीले पनि नेपाली समाजका विभिन्न प्रभूत्व व्यक्तित्वहरुसँगको सम्बन्धलाई महत्व दिएकी छन् ।

त्यसैले भन्न सकिन्छ, उ बेलाकी चाङ र अहिलेकी यान्छीबीच नेपाली राजनीतिमा धेरै समानता देखिंदैछ ।

Logo