चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन्। कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन्।
कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो। कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ। कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन।
बोर्ड सदस्यहरूको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो। बोर्डमा ६ जना सदस्य रिक्त छन्। जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ। तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरूको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए।
क्यान्सर अस्पतालको बोर्ड सदस्य ६ जना खाली छ। नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन्। तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन नसकेको हो।































प्रतिक्रिया