वैदेशिक रोजगार बचतपत्र, कसरत नपुग्दा प्रभावकारिता नै भएन

वैदेशिक रोजगार बचतपत्र, कसरत नपुग्दा प्रभावकारिता नै भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन वैदेशिक रोजगारी वचतपत्र निष्कासन गर्दै आएको छ । वैदेशिक रोजगार बचतपत्र रोजगारीमा जाने नेपालीले कमाएको विप्रेषण (रेमिट्यान्स) उत्पादनमुलक क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकले ल्याउने बचत सम्बन्धी योजना हो । यस्तो वचतपत्र सरकारले आन्तरिक ऋण उठाउने वित्तीय औजार हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि सुरु गरेको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ ।

राष्ट्र बैंकले बाह्रै महिना निष्काशन गर्ने भने पनि केही समय यस्तो बचतपत्रको निष्काशन रोकिएको थियो । गत पुस १ गतेदेखि यो बचतपत्र पुनः निष्काशन गर्न सुरु गरेको थियो । राष्ट्र बैंकले गतवर्ष यस्तो बचतपत्र निष्कासन गरेन । यस वर्ष पहिलो चरणमा २५ करोड रुपैयाँ बराबरको निष्काशन गरेको राष्ट्र बैंकले गरेको थियो । सरकारले चालु आर्थिक वर्षको आन्तरिक ऋण मध्ये १ अर्ब रुपैयाँ बराबरको ऋण वैदेशिक बचतपत्रबाट उठाउने लक्ष्य राखेको छ । यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने बजेटमा उल्लेख छ । सरकारले ल्याउन लागेको यो बचतपत्रको ब्याजदर १० प्रतिशतसम्म प्राप्त गर्न सकिन्छ । त्यस्तै, ब्याज प्रत्येक ६/६ महिनामा ब्याज प्राप्त गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

के हो वैदेशिक रोजगार बचतपत्र ?

यो बचतपत्र सरकारको आन्तरिक ऋण उठाउने एउटा औजार हो । मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनेर राष्ट्र बैंकले यो बचतपत्र निष्काशन गर्दै आएको हो । यस्तो बचतपत्र नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र हो । यो बचतपत्र ५ वर्षे अवधिका लागि निष्कासन गरिन्छ ।

उद्देश्य

यो बचतपत्र निष्कासनको प्रमुख उद्देश्य मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक वा गैर–आवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम लगानी गर्न प्रोत्साहित गर्ने, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासको निमित्त वित्तीय साधन जुटाउने रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक दशकमा निष्काशनको ४.८५ प्रतिशत मात्रै बिक्री

वैदेशिक रोजगार बचतपत्रको विगत दश वर्षको बिक्रीको अवस्था दयनिय देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष ०६७ देखि यो बचतपत्र निष्काशन सुरु गरेको थियो । यो अवधीदेखि हालसम्मको अवस्था हेर्दा वैदेशिक रोजगार बचत पत्रमा वैदेशिक रोजगारीमा जानेको आकर्षण देखिदैन । राष्ट्र बैंकले हालसम्म १२ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । तर विक्रि भने ५९ करोड लाख रुपैयाँ मात्रै भएको छ । यो कुल बचतपत्रको ४.८५ प्रतिशत मात्रै हो ।

किन बढेन आकर्षण ?

बैंकमा राख्ने निक्षेपको तुलनामा यस बचत पत्रमा आकर्षक ब्याजदर दिँदा पनि आकर्षण बढ्न सकेको छैन । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बारेमा वैदेशिक रोजगारीमा जानेलाई बुझाउन पर्याप्त कसरत गर्न सकेको छैन । त्यसकारण यस रोजगार बचतपत्रमा आकर्षण बढ्न नसकेको हो । राष्ट्र बैंकले बचतपत्रको प्रचार प्रसारका लागि डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा एक टोली खाडी मुलुक पठाएको थियो । डेपुटी गभर्नर शिवाकोटीको टोलीले खाँडी मुलुकमा प्रचारप्रसार पनि ग¥यो । तर प्रचारप्रसार गर्दा समेत बचतपत्रप्रति भने वैदेशिक रोजगारीमा जानेको आकर्षण बढे्न सकेन । तत्कालिन अवस्थामा राम्रो प्रचारप्रसार गर्न नसकेको तथा वैदेशिक रोजगारीमा जानेहरुले बचतपत्रबारे राम्रोसँग नबुझेका कारण बिक्री हुन नसकेको राष्ट्र बैंकको भनाइ छ ।

कसरी बढ्छ त आकर्षण ?

विगत १० वर्षको अवस्था हेर्दा आकर्षण न्युन भएको भन्दै यस्तो बचतपत्रको आकर्षण बढाउने प्रयास गरिरहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई लक्षित गरी प्रचारप्रसार गर्ने प्रवक्ता भट्टको भनाइ छ । यसअघि पनि राष्ट्र बैंकले यस्तो प्रचारप्रसार गरिसकेको छ । यस बचतपत्रको बिक्रीका लागि वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रचारप्रसार गर्ने बताएको थियो । तर राष्ट्र बैंकले त्यहाँ प्रचारप्रसार भने गर्न सकेन ।

बाह्रै महिना निष्काशन हुने

राष्ट्र बैंकले वर्षको बाह्रै महिना यस्तो बचतपत्र निष्काशन गर्ने योजनामा रहेको प्रवक्ता भट्टले बताए । राष्ट्र बैंकले यस अघि पनि यो बचतपत्र बाह्रै महिना बिक्री गर्ने भने पनि गत वर्ष निष्काशन रोकेको थियो । तर अब भने निरन्तर रुपमा निष्काशन हुने प्रवक्ता भट्टको भनाइ छ ।

निष्कासन प्रक्रिया

यो बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर (ओटिसी) प्रक्रियाबाट निष्कासन गरिन्छ । वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । अवधि र कुपन (ब्याज) दर वैदेशिक रोजगार बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।

कसले पाउँछ किन्न ?

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आपूm वा आफ्नो एकाघर परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सकिन्छ । साथै, मुलुक बाहिरको रोजगारीमा संलग्न भई फर्केकाले पनि फर्केको चार महिनाभित्र यो बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । खरिद गर्न सकिने रकम घटीमा ५ हजार रूपैंयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५ हजार रूपैंयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।

कहाँ पाइन्छ किन्न ?

प्राथमिक निष्कासनको समयमा बिक्री एजेण्टमार्फत यो बचतपत्र बिक्री गरिन्छ । यो बचतपत्र खरिद आवेदन फारम प्राथमिक निष्कासनको समयमा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । बिक्री एजेण्टमार्फत पनि फारम उपलब्ध हुन्छ । आवेदन फारम पेश गर्ने स्थान यो बचतपत्र खरिद आवेदन फारम बिक्री एजेण्टका विदेश वा स्वदेशस्थित कार्यालयमा पेश गर्नु पर्दछ । यस्तो बचतपत्र किन्दा आवेदनसाथ आवेदनकर्ताको राहदानीको प्रतिलिपि, कार्यरत मुलुकको भिसाको प्रतिलिपि (भारतबाहेक अन्य मुलुकमा कार्यरत श्रमिकका लागि मात्र),कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साईजको दुई प्रति फोटो, नेपालमा खरिद गर्नु पर्ने अवस्थामा वैदेशिक रोजगार बचतपत्र खरिदको लागि प्रयोग भएको नेपाली मुद्रा बराबरको विदेशी मुद्रा वैधानिक माध्यमबाट नेपाल भित्रिएको हो भन्ने प्रमाणको रूपमा विदेशी मुद्रा सटही रसिद लगायतका कागजात पेश गर्नुपर्छ ।

 

 

Skip This
Skip This
Logo