जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ। सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन्।
तथ्याङ्क कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजनिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ। तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका अनुसार सबैभन्दा बढी भक्तपुर जिल्लामा तीन दशमलव ३५ प्रतिशत वार्षिक जनसङ्ख्या वृद्धिदर रहेको छ। भक्तपुरमा २०६८ सालमा जनसङ्ख्या तीन लाख चार हजार छ सय ५१ रहेकोमा २०७८ मा चार लाख ३२ हजार एक सय ३२ पुगेको छ।
रुपन्देही जिल्लामा २०६८ सालमा जनसङ्ख्या आठ लाख ८० हजार एक सय ९६ जना रहेकोमा २०७८ सालमा ११ लाख २१ हजार नौ सय ५७ पुगेको।विसं २०७८ को जनगणनाअनुसार रुपन्देही जिल्लाको दश वर्षको सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव ३३ प्रतिशत देखिन्छ। विसं २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव १७ प्रतिशत रहेको थियो।
स्थानीय तहअनुसार सबैभन्दा बढी जनसङ्ख्या बुटवल उपमहानगर पालिकामा एक लाख ९४ हजार तीन सय ३५ ९१७ दशमलव तीन प्रतिशत० र सबैभन्दा कम जनसङ्ख्या मर्चवारी गाउँपालिकामा ४० हजार आठ सय ८० ९तीन दशमलव छ प्रतिशत० रहेको छ। यस्तै प्रतिवर्गकिलोमिटर जनघनत्व सबैभन्दा धेरै सिद्धार्थनगर नगर पालिकामा दुई हजार ६६ जना रहेको छ भने सबैभन्दा कम सैनामैना नगरपालिकामा चार सय ८३ जना रहेको छ ।
गत दश वर्षको अवधिमा सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ४९ दशमलव २६ प्रतिशतले र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा पाँच दशमलव ४३ प्रतिशतले जनसङ्ख्या थप भएको छ ।
जनगणनाको नतिजाअनुसार रुपन्देही जिल्लामा जम्मा दुई लाख २७ हजार तीन सय ५१ घर संरचना रहेका छन् । यीमध्ये ८१ प्रतिशत आवासीय घर रहेका छन्। रुपन्देहीमा चार दशमलव दुई प्रतिशत घर खाली रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा कूल दुई लाख ३८ हजार तीन सय २० परिवार रहेकोमा तीमध्ये ६६ दशमलव नौ प्रतिशत परिवारमूली पुरुष र बाँकी ३३ दशमलव एक प्रतिशत परिवारमूली महिला रहेको कुर्मीले बताए।
रुपन्देहीमा जनसङ्ख्याको पाँच वर्षको उमेर समूहअनुसार १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा बढी प्रतिशत ९१० दशमलव छ प्रतिशत० रहेको छ । पुरुषको हकमा १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा धेरै पाँच दशमलव चार प्रतिशत र महिलातर्फ २० देखि २४ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा धेरै पाँच दशमलव तीन प्रतिशत व्यक्ति रहेका छन् ।
पन्ध्र वर्षमुनिका आश्रित जनसङ्ख्या जिल्लाको कूल जनसङ्ख्याको २७ दशमलव १३ प्रतिशत र ५९ वर्षभन्दा माथिका आश्रित जनसङ्ख्या आठ दशमलव ९४ प्रतिशत रहेको छ । नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य उमेर समूह ९१६ वर्ष वा सोभन्दा माथि० का जनसङ्ख्या कूल जनसङ्ख्याको ७० दशमलव ८४ प्रतिशत रहेको छ ।
क्रियाशील श्रम शक्तिसँग सम्बन्धित उमेर समूहअर्थात् १५ देखि ५९ वर्ष उमेरका व्यक्ति ६३ दशमलव ९४ प्रतिशत छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्भाव्य ६८ वर्ष वा सोभन्दा माथिका जनसङ्ख्या चार दशमलव ४८ प्रतिशत रहेका छन् ।
रुपन्देही जिल्लाको साक्षरता दर ८१ दशमलव २३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८८ दशमलव चार प्रतिशत र महिलाको साक्षरता दर ७४ दशमलव चार प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा कूल साक्षरता दर ६९ दशमलव ७८ प्रतिशत, पुरुषको साक्षरता दर ७९ दशमलव २२ प्रतिशत र महिलाको साक्षरता दर ६० दशमलव ७९ प्रतिशत रहेको थियो ।
स्थानीय तहमा बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ९१ दशमलव ३१ प्रतिशत साक्षरता दर रहेको छ भने सबैभन्दा कम मर्चवारी गाउँपालिकामा ६८ दशमलव ६९ प्रतिशत साक्षरता दर रहेको छ ।
जनगणनामा रुपन्देही जिल्लामा कूल एक लाख १३ हजार दुई सय ६२ जना बालबालिकामध्ये ६३ दशमलव नौ प्रतिशतले जन्म दर्ता गरेका छन् भने ३६ दशमलव एक प्रतिशतले जन्म दर्ता गरेका छैनन् । स्थानीय तहमा सबैभन्दा बढी कञ्चन गाउँपालिकामा ७१ दशमलव चार प्रतिशत र सबैभन्दा कम कोटहीमाई गाउँपालिकामा ५६ प्रतिशतले मात्र जन्म दर्ता गरेका छन् ।
रूपन्देही जिल्लामा पहिलाको तुलनामा पहाडी ब्राह्मणको जनसङ्ख्या बढेको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ मा कूल जनसङ्ख्याको १५ दशमलव नौ प्रतिशत रहेको पहाडी ब्राह्मणको जनसङ्ख्या २०७८ मा बढेर १६ दशमलव आठ प्रतिशत पुगेको छ। यस्तै मगर जाति १० दशमलव सात प्रतिशतबाट थोरै बढेर १० दशमलव नौ पुगेको छ । थारु, मुसलमान, यादवलगायतको जनसङ्ख्या घटेको तथ्याङ्कबाट देखिन्छ । जिल्लामा थारुको जनसङ्ख्या २०६८ मा रहेको नौ दशमलव छ प्रतिशतबाट घटेर हाल आठ दशमलव दुई प्रतिशत पुगेको छ । यस्तै मुसलमान आठ दशमलव दुई प्रतिशतबाट घटेर सात दशमलव सात प्रतिशत र यादवको जनसङ्ख्या सात दशमलव चार प्रतिशतबाट घटेर छ दशमलव सात प्रतिशत पुगेको तथ्याङ्क कार्यालयका प्रमुख कुर्मीले बताए । उनका अनुसार रुपन्देहीमा कसल एक सय जातजातिको बसोबास रहेको छ ।
जिल्लामा नेपाली मातृ भाषीको सङ्ख्या पनि पहिलेभन्दा अहिले बढेको छ । नेपाली मातृभाषा भएको जनसङ्ख्या २०६८ सालमा ३६ दशमलव नौ प्रतिशत रहेकोमा अहिले बढेर ४२ दशमलव छ प्रतिशत पुगेको छ । भोजपुरी मातृभाषा रहेका भने घटेको तथ्याङ्कमा उल्लेख छ । ३६ दशमलव छ प्रतिशत भोजपुरी मातृ भाषीहरू अहिले घटेर ३१ दशमलव आठ प्रतिशत पुगेका छन् । यस्तै अवधि भाषी छ दशमलव चारबाट बढेर १० दशमलव एक प्रतिशतमा पुगेका छन । रुपन्देहीमा कूल ४१ मातृभाषा बोलिने गरेको तथ्याङ्कले देखाएको छ ।
रुपन्देहीमा २०६८ सालमा ८६ दशमलव दुई प्रतिशत हिन्दु धर्म मान्ने जनसङ्ख्या रहेकोमा २०७८ सालमा थोरै बढेर ८७ प्रतिशत पुगेको छ । यस्तै बौद्ध धर्म मान्ने चार दशमलव छ प्रतिशतबाट घटेर तीन दशमलव आठ प्रतिशत र इस्लाम धर्म मान्ने आठ दशमलव दुई प्रतिशतबाट झरेर आठ दशमलव एक प्रतिशतमा पुगेको छ ।































प्रतिक्रिया