अनेकौँ परिचय बोकेका रोविन तामाङ एक अभिनेता , हितैषी, असल पिता मात्र नभई निर्विवाद नेपाली रकस्टारका पनि ‘रकस्टार’ हुन्। तर आज उनी हामी माझ छैनन्। मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा उनि मृत भेटिएका छन्।
उनको मृत्यु हृदयाघातका कारण भएको प्रहरिले प्रारम्भिक निष्कर्ष निकालेको छ। उनको निधनको खबर फैलिनसाथ सामाजिक सञ्जालमा यतिबेला टाइमलाइनमा श्रद्धाञ्जली दिनेको ओइरो लागेको छ। नेता, कलाकारदेखि सर्वसाधारण सम्मले उनको निधनलाई ‘एक युगको अन्त्य’भएको बताइरहेका छन्। रोविनको गितार बज्न रोकिए पनि उनले बजाएका झंकारहरु सदियौंसम्म हाम्रो हृदयमा सुनि रहनेछन्।
को हुन् रोविन ?
विदेशमा जन्मे–हुर्केकाे भएतापनि उनको मन भने नेपाली थियो। सन् १९६३ मा ५७ वर्ष अघि सिंगापुरमा जन्मिएका थिए उनि तर उनका बुवा भने बेलायती सैनिक थिए। उनका बुबा हरेक दुई वर्षमा भिन्न बेलायती उपनिवेश जानुपर्ने भएकाले उनको बाल्यकाल कहिले सिंगापुर, कहिले हङ्गकङ्ग,कहिले ब्रुनाई त कहिले बेलायत गरेरै बित्यो।
सिंगापुरमा स्कूलमा पढ्दै गर्दा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलजस्ता रक ब्यान्डहरुको गीत सुन्न थालिसकेका थिए। संगीतप्रतिको उनको लगाव दिन दुगुना रात चौगुनाको दरले बढ्दै गएको थियो।
रबिनले हाई स्कूल हङकङबाट गरे पनि विश्वविद्यालय अध्ययन भने लागि क्यानडाबाट गरे। क्यानडामा युनिभर्सिटी अफ टोरोन्टोबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरे। तर इन्जिनियरिङ पेसामा उनी कहिल्यै रमाउन सकेनन्।
त्यसपछि उनले रष्टुरेन्ट खोले, ब्यान्ड सुरु गरे,आफ्नै रेष्टुरेन्टमा आफ्नै ब्यान्डमार्फत् प्रस्तुती दिन थाले। यसरी उनले हाँस्दै, खेल्दै र संगीत सिक्दै क्यानडामा आफ्नो १७ वर्ष बिताए।
रोविनको बुवाको बेलायती सैनिकको जागिर भएकाले उनले नेपालमा विरलै मात्र समय व्यतित गर्न पाए।
तसर्थ उनलाई न त नेपालको इतिहासबारे थाहा थियो, न चालचलन, रितिथिती, संस्कृति न त भूगोल नै। तर उनको जीवनमा एउटा यस्तो मोड आयो जब उनलाई आफ्नो ‘जरा’ थाहा पाउन मन लाग्यो,आफ्नै माटोसँग परिचित हुने उत्कट चाहना जाग्यो। अल्पायुमै दाइ, दिदी गुमाएपछि पनि उनलाई विदेशमा ‘आइडेन्टिटी क्राइसिस’ हुन थाल्यो। र आफ्नो परिचय खोज्दै उनि नेपालसम्म आइपुगे। त्यसपछि नै क्यानडाको सबै झिटी–गुन्टा बोकेर सधैंका लागि नेपाल फर्किए।
रोविन संगीतलाई आफ्नो पेशा बनाउन चाहन्थे। उनको मानस्पटलमा एउटै मात्र सपना सजिएको थियो, संगीतकर्मी बन्ने।
रोविनको नेपाल यात्रा
उनी नेपाल फर्कंदा संगीतको स्कोप बल्ल सुरु हुँदै थियो। त्यतिबेला ‘रक एण्ड रोल’ संगीत गर्ने खासै कोही पनि थिएनन्। आफ्नो सपना पछ्याउन यसलाई उनले उचित समय ठाने।
त्यसपछि उनले क्यानडाकै स्टाइल अनुसरण गर्ने निधो गरे र नेपाल फर्किएको एक वर्षपछि ठमेलमा ‘ब्याम्बो क्लब’ नामको रेष्टुरेन्ट खोलेर उनले नेपालमा आफ्नो संगितको यात्रा सूरु गरे।
रेष्टुरेन्टबाट नेपालमा यात्रा सूरु गरेका उनले पछि रोविन एण्ड द लुजा नामक एउटा ब्याण्ड बनाए। नेपाली रकसंगीतको विकास र घुम्तीमा यो ब्याण्डको गठन र रोविनको आगमन पहिलो थियो । त्यसपछि रोविन एण्ड द लुजाले खनेको गोरेटोमा मुक्ति एण्ड रिभाइभल, कबवेभजस्ता अन्य रक ब्याण्ड पनि थपिए। उक्त कालखण्डमा गीति क्यासेटदेखि म्युजिक भिडियोसम्मको यात्रा संगीतले तय गर्याे।
सन् २००५ मा रविन एण्ड द लुजाको विघटनपछि उनले जन्माए ‘रोविन एण्ड द न्यु रिभोलुसन ।’ अनि सुरु भयो आफ्नै नेतृत्वमा नयाँ संगीत यात्राको सिलसिला। केटाकेटी, हाम्रो देश, नेपाल र १३ हजार उनका हिट एल्बमहरु हुन्।
उत्तरआधुनिकताको लयसँग तालमेल मिलाउन पनि रोविनको गीत सुन्नैपर्ने अदृश्य बाध्यता युवापुस्तामा थियो। अर्थात्, नयाँपुस्ताका लागि रोविन ‘फेसन आइकन’ थिए।रोविनका ती ९ गीत जसले अहिले पनि रकप्रेमी दर्शक तथा श्रोतामा सांगीतिक छाल सिर्जना गर्छन्।
‘भूलमा भुल्यो’ युवा पुस्तामाझ हिटभएको गीत हो। साइन अन मी, केटाकेटी, दम मारो दम, चिसो चिसो हावामा, जति माया लाएपनि, नेपाल, एकता, माइला भाइ उनका चर्चित रकगीत हुन्।
रोविनले रकगायनलाई नेपाली समाजसँग जोड्ने हिम्मत गरिरहे। उनी आउनुपूर्व पनि केही रकगीत हिट थिए, तर उनले मान्छेको हृदयभित्रै पसेर रक गीतका छालहरु सिर्जना गर्थे। रक गायनको यो स्टाइल र क्षमता आउँदो धेरै समय नेपाली रक जनरामा मिसिङ भइरहनेछ। पछिल्लो समय रोविन गायनभन्दा फिल्म अभिनयमा व्यस्त थिए।
२०६७ सालमा रिलिज भएको ‘छड्के’बाट उनले फिल्म करिअर थाले। त्यसयता उनले मुखौटा, वान वे, जय परशुराम, मेरो पैसा खै, नाका, दाल भात तरकारी, बादशाह जुट, कमाण्डर, चिसो एस्ट्रेमा काम गरे। उनी अभिनित पछिल्लो फिल्म ‘छड्के २’ थियो।































प्रतिक्रिया