सिन्धुपाल्चोक पहिरो : ‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

सिन्धुपाल्चोक पहिरो : ‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

दुई दिन अघि घरमा सकुशल छोडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन् । मजदुरी गरेर आमालाई खुसी बनाउन घरनजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा मध्यरातमा आएको ठूलो आवाजसँगै बेपत्ता भएकी आमालाई खोज्न बाढीले बगाएको आफ्नो घरआसपास घुमिरहेका छन् ।

साँझ मात्रै आमासँग फोनमा गफ गरेर आफू केही दिनपछि मात्र घर आउने बताएका दावाको आमासँगको अन्तिम संवाद नै त्यही बन्यो। आफू बसेको गाउँबाटै बुधबार मध्यरातमा ठूलो आवाज आएको सुनेर दौडिएर आएका दावाले न आमा भेटे न भूकम्पपछि पुनर्निर्माण गरेको घर नै। बिहानसम्म आमा कतै भेटिने आशामा रहेका दावा दिन ढल्दै जाँदा पनि सम्पर्कमा नआएपछि जीवित भेटिने आशा मार्न थालेका छन् । ‘आमाको श्वास भेटिने आशा त मर्‍यो कम्तिमा लास भेटे पनि मनमा सन्तोष त हुन्थ्यो’, दावाले टेलिफोनमा भने, ‘बुधबार रातको पानी हाम्रो लागि अभिशाप बनेर आएको रहेछ।’ दावा मात्र हैन, बेपत्ता भएकाको परिवारका सदस्य अहिले यही भन्न थालेका छन्।

अविरल वर्षाले राजमार्गमा पर्ने जम्बु बजार माथिबाट आउने याल्मो खोलामा लेदो सहितको बाढी आएर बस्तीमा पस्दा झन्डै १५ घर बगाएको थियो । बाढीमा परेर दुईजनाको मृत्यु भयो भने २२ जना अझै बेपत्ता छन् । बाढीमा परेका सहकर्मी इन्जिनियर आकाश केसी भेटिने आशामा शुक्रबार राजधानीबाट यमन भुषाल बाह्रबिसे आएका छन् । राजधानी आउँदा आफ्नैमा बस्ने केसी अझै भेटिन्छ कि भन्ने उनलाई आशा छ। दाङको तुलसीपुरमा रहेका आकाशका बाबुआमालाई ऊ सम्पर्कविहीन मात्र भएको खबर पठाइएको छ। राति बजारमा बाढी आएपछि भाग्ने क्रममा बेपत्ता भएका आकाशसँगै जाइका परियोजनाअन्तर्गत पुनर्निर्माण कार्यमा खटिएका इन्जिनियर सुशिल पन्थीले बताए।

बुधबार राति जम्बु र बुल्कोटमा आएको बाढीले बेपत्ता बनाएका २२ जना कोही पनि शुक्रबार साँझसम्म नभेटिएको स्थानीय प्रशासनले जनाएको छ। बाह्रबिसेदेखि नै बाढीस्थलसम्म पुग्ने अरनिको राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएकाले बेपत्ता खोजी तथा पीडितलाई राहत पुर्‍याउन समस्या भएको हो। निरन्तरको वर्षाका कारण सडक सुचारु गराउन नसक्दा राहत पुर्‍याउन र बेपत्ताको खोजी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।अन्नपूर्णबाट

Logo