नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको मृत्युपछि नर्भिक अस्पतालमा शीर्ष नेता र उच्च अधिकारीहरूकाे भिड लागेकाे छ।
कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।
सरकारका मन्त्रीहरु,सचिवहरु,प्रधान सेनापति सहित सुरक्षा निकायका प्रमुहरु अस्पतालमा पुगेका छन्। अस्पताल क्षेत्रमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लिएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो।
प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार आज बिहान उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो। सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो। उनको मृत्युसँगै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल नर्भिक पुगेकी छिन्।
माओवादी 'जनयुद्ध'मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो।
पुष्पकमल दाहाल प्रचण्डले यसअघि २०७४ सालमा छोरा प्रकाश गुमाएका थिए। प्रकाशको निधन पनि कार्डिक अरेस्टबाटै भएको थियो। त्यसअघि उनकी छोरी ज्ञानु दाहालको २०७० सालमा मृत्यु भएको थियो।उनी क्यान्सर पीडित थिइन्। प्रचण्ड र सीताका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरपालिकाका मेयर हुन् भने गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन्।





























प्रतिक्रिया